लण्डन । प्रथम भिक्टोरिया क्रस (भिसी) विजेता गोरखा सैनिक कुलवीर थापाको शालिक शनिबार अल्डरसटको प्रिन्सेस गार्डेनमा भव्य रुपमा अनावरण भएको छ ।
शालिक अनावरण बेलायती महारानीको प्रतिनिधिका रुपमा स्थानीय काउन्टी ह्याम्पसायरका डेपुटी लर्ड लेफ्टिनेण्ट, बेलायतका लागि नेपाली राजदुत लोकदर्शन रेग्मी, बेलायती रक्षा राज्यमन्त्री तथा सो क्षेत्रका सांसद लियो डोचेर्टी र भिसी कुलवीर थापाका नाति सूर्य थापा लगायतबात अनावरण भएको हो ।
अनावरण पूर्व बौद्ध परम्परा अनुसार लामाले र हिन्दू परम्पराअनुसार पण्डितले पूजापाठ गरेका थिए । त्यसैगरी भिसी थापालगायत दिवंगत गोरखा सैनिकहरुको सम्झनामा दुई मिनेट मौनधारण समेत गरिएको थियो ।
शालिक अनावरणपछि विशिष्ट अतिथिलगायत सबै प्रमुख व्यक्तित्वहरूले एकैपटक भिसी थापाको शालिकमा पुष्पगुच्छा चडाएका थिए । पुष्पगुच्छा चडाएकापछि विशेष व्यक्तित्वहरूले आफ्ना मन्तव्य राखेका थिए ।
भिक्टोरिया क्रस प्राप्त गर्ने प्रथम गोर्खा सैनिक कुलवीर थापाको सम्मान स्वरूप निर्माण गरिएको उक्त शालिकमा कास्य धातु प्रयोग गरिएको छ ।
सन् १८८९ डिसेम्बर १५ का दिन पाल्पा जिल्लामा जन्मिएका थापालाई १९१५ मा फ्रान्सको लू युद्धमा देखाएको बहादुरीका कारण भिक्टोरिया क्रस (भिसी) बाट सम्मान गरिएको थियो । उक्त शालिकमा पनि एक घाइते सैनिकलाई युद्ध मैदानमा बोक्दै गरेको दृश्य देखाइएको छ ।
प्रथम विश्व युद्धमा घाइते एक ब्रिटिश र दुई गोर्खा सैनिकलाई बचाएर बहादुरी प्रदर्शन गरेका थापाको सन् १९५६ मा निधन भएको थियो । उनको सम्मान स्वरूप बेलायतमा सन् २०१५ मा उनको तस्विर अंकित हुलाक टिकट समेत प्रचलनमा ल्याइएको थियो ।