February 13, 2025, Thursday
२०८१ फाल्गुन २
1:37:26 pm

प्रथम भिसी कुलवीर थापाको शालिक आज अल्डरसटको प्रिन्सेस गार्डेनमा अनावरण हुँदै

4.6K

लण्डन । प्रथम भिक्टोरिया क्रस (भिसी) विजेता गोरखा सैनिक कुलवीर थापाको शालिक शनिबार अल्डरसटको प्रिन्सेस गार्डेनमा अनावरण हुँदैछ । अनावरण कार्यक्रम बिहान १०.४५ मा सुरु हुनेछ ।

सो शालिकको अनावरण बेलायती महारानीको प्रतिनिधिका रुपमा स्थानीय काउन्टी ह्याम्पसायरका डेपुटी लर्ड लेफ्टिनेण्ट, बेलायतका लागि नेपाली राजदुत लोकदर्शन रेग्मी, बेलायती रक्षा राज्यमन्त्री तथा सो क्षेत्रका सांसद लियो डोचेर्टी र भिसी कुलवीर थापाका नाति सूर्य थापाले गर्नेछन् ।

त्यसैगरी अनावरण पूर्व बौद्ध परम्परा अनुसार लामाले र हिन्दू परम्पराअनुसार पण्डितले पूजापाठ गर्नेछन् । भिसी थापाले भिक्टोरिया क्रस पाउँदा लण्डन गजेटमा मुद्रित व्यहोरा अंग्रेजी र नेपालीमा वाचन गरिने छ । शालिक अनावरणपछि विशिष्ट अतिथिलगायतले भिसी थापाको शालिकमा पुष्पगुच्छा चढाउने छन् । साथै भिसी थापालगायत दिवंगत गोरखा सैनिकहरुको सम्झनामा दुई मिनेट मौनधारण गरेपछि अतिथिहरुले मन्तव्य व्यक्त गर्नेछन् ।

Advertisement

विशिष्ट अतिथिहरू कार्यक्रम सकेर प्रस्थान गरेपछि सर्वसाधारणलाई पनि फूल चढाउने अवसर दिइने बताइएको छ ।

भिक्टोरिया क्रस प्राप्त गर्ने प्रथम गोर्खा सैनिक कुलवीर थापाको सम्मान स्वरूप निर्माण गरिएको उक्त शालिकमा कास्य धातु प्रयोग गरिएको छ ।

सन् १८८९ डिसेम्बर १५ का दिन पाल्पा जिल्लामा जन्मिएका थापालाई १९१५ मा फ्रान्सको लू युद्धमा देखाएको बहादुरीका कारण भिक्टोरिया क्रस (भिसी) बाट सम्मान गरिएको थियो । उक्त शालिकमा पनि एक घाइते सैनिकलाई युद्ध मैदानमा बोक्दै गरेको दृश्य देखाइएको छ ।

प्रथम विश्व युद्धमा घाइते एक ब्रिटिश र दुई गोर्खा सैनिकलाई बचाएर बहादुरी प्रदर्शन गरेका थापाको सन् १९५६ मा निधन भएको थियो । उनको सम्मान स्वरूप बेलायतमा सन् २०१५ मा उनको तस्विर अंकित हुलाक टिकट समेत प्रचलनमा ल्याइएको थियो ।