लन्डन । शिवमन्दिर अल्डरसटको प्राणप्रतिष्ठा तथा उद्घाटनको मिति तय भएको छ । शिवमन्दिर अल्डरसटका कार्यवाहक अध्यक्ष तथा पूर्व डिएसपी बाचस्पती रेग्मीको अध्यक्षतामा बसेको बोर्ड अफ ट्रस्टिजÞ र कार्यसमितिको बैठकले उद्घाटन हुने मिति तय गरेको हो ।
बैठकले आराध्य देव पशुपतिनाथ भगवान काठमाडौंको प्रतिस्वरूप चतुर्मुखी शिवलिङ्गसहित अन्य मूर्ति र प्रतिमाहरूको प्राणप्रतिष्ठापन तथा मन्दिर उद्घाटन यही अक्टोवरको ७,८ र ९ तारिख अर्थात् बिहिवार घटस्थापनाबाट सुरु गरेर शनिवारसम्म तीन दिन गर्ने निर्णय गरेको छ ।
पशुपतिनाथको प्रतिस्वरूप मुख्य मूर्ति बेलायतका प्रसिद्ध समाजसेवी रविजङ्ग लामिछानेले सहयोगस्वरूप उपलब्ध गराएका हुन ।
बहुप्रतीक्षित युरोपकै पहिलो नेपाली कलात्मक प्यागोडा शैलीको शिवमन्दिरको उद्घाटन र प्राणप्रतिष्ठा पूर्ण वैदिकप्रकृयाबाट लगातार तीन दिनसम्म बेलायतवासी गुरू चिरञ्जीवि ढकाललगायत अन्य विद्वान् गुरुहरूको सहभागितामा सम्पन्न हुनेछ ।
दैनिक पूजा आराधनाका साथै भजन किर्तन एवम नैमती बाजा गाजा सहित धुमधामका गरिने उक्त कार्यक्रमका लागि संरक्षक एवम पूर्व अध्यक्ष रोहित कुमार गुरुङ, महासचिव विक्रम भट्टराई, ट्रस्टी शुष्मा गुरुङ, ट्रस्टी सुनीत जैन, कोषाध्यक्ष हरि भट्टराई, काउन्सिलरतथा ट्रस्टी जीव बेलबासे लगायतको संयोजक समिती तोकिएको कुरा महासचिव बिक्रम भट्टराईले बताए ।
कोविड–१९ का कारण उत्पन्न अप्रत्याशित परिस्थिति, सनातन वैदिक परम्परा र मान्यताहरू साथै स्थानीय सरकारीनिकायहरूका विधि विधानका परिधिहरुलाई मध्यनजर राखेर अगाडि बढ्नुपर्ने हुनाले तदनुरूप नै कार्यक्रमलाई सक्दो छोटो र प्रभावकारी बनाउने कोशिश गरिएको छ ।
शिवमन्दिर अल्डरसटका महासचिव बिक्रम भट्टराईले शिवमन्दिर अल्डरसटका निमित्त स्थापनाकालदेखि मन, वचन र कर्मले सहयोग, सद्भाव र सहकार्य गर्ने सम्पूर्ण सदस्यहरूलाई उक्त तीन दिवसीय प्राणप्रतिष्ठा तथा समुद्घाटन कार्यक्रममा उपस्थित भएर आराध्यदेव श्रीमहादेवको आशीर्वाद दिँदै कार्यक्रमको शोभा बढ़ाइदिन अनुरोध गरेका छन् ।