May 25, 2022, Wednesday
२०७९ जेष्ठ ११
1:37:26 pm

अष्ट्रियाका संघसंस्थाहरूले वर्षभरि गर्ने कार्यक्रमहरूको संयुक्त वार्षिक पात्रो सार्वजनिक गर्ने

705

काठमाडौ । अष्ट्रियामा रहेका विभिन्न संघसंस्थाहरूले वर्षभरी गर्ने कार्यक्रमहरूको संयुक्त वार्षिक पात्रो सार्वजनिक गर्ने भएको छ ।

गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् अष्ट्रियाको आयोजनामा १८ सेप्टेम्वरमा बसेको अष्ट्रियामा रहेका विभिन्न संघ संस्थाहरू ने.सा.स अष्ट्रिया, नेपाल आदिवासी जनजाती महासंघ अष्ट्रिया, स्पोर्ट क्लव भियना सगरमाथा र इनास अष्ट्रियाको संयुक्त वैठकद्वारा अष्ट्रियामा रहेका विभिन्न संघसंस्थाहरूले वर्षभरी गर्ने कार्यक्रमहरूको संयुक्त वार्षिक पात्रो सार्वजनिक गर्ने निर्णय भएको एनआरएनए अष्ट्रियाको आधिकारिक फेसबुक पेजमा उल्लेख गरिएको छ ।

वार्षिक पात्रो तयार गर्दा उक्त क्यालेण्डर अनुसार सम्पूर्ण संस्थाहरूलाई कार्यक्रम तय गर्न सहज हुनका साथै कार्यक्रमहरू जुध्ने संभावना समेत नहुने हुँदा कार्यक्रमहरू सफल हुने बताइएको छ ।

Advertisement

एनआरएनए अष्ट्रिया महिला फोरमले गर्दै आईरहेका कार्यक्रमहरूमध्ये “नारी दिवस र तीज” कार्यक्रमसँग इनास अष्ट्रियाले तय गरेको फागुपर्व र तीज कार्यक्रमको मिति नजिक अथवा एउटै हुनसक्ने संभावना देखिएकोले उक्त विषयमा व्यापक छलफल पश्चात दुवै संस्थाका कार्यक्रमहरूलाई असर नपर्ने गरी फागुपर्व र नारी दिवसको कार्यक्रममा कम्तिमा पनि दुई हप्ताको फरक राख्ने र तीज कार्यक्रम एनआरएनए महिला फोरम अष्ट्रियाले, इनास अष्ट्रिया गठन अगावैदेखि मनाउदै आईरहेको हुँदा हरेक वर्ष पहिलो तीज महिला फोरमको रहने र दोश्रो तीज इनासको रहने निर्णय पनि गरेको छ ।

त्यसैगरी उक्त बैठकले विभिन्न संघसंस्थाहरूले आयोजना गर्ने कार्यक्रमहरूमा चन्दा सहयोग माग्ने प्रवृत्तिको कारण चन्दादाताहरू समेत मर्कामा परेको, सहयोगको होडवाजी तथा देखासिखीप्रवृत्ति बढेको र कार्यक्रम अगावै सहयोग संकलन भएको तुलनामा कार्यक्रम सफल भईसकेको मुल्याङ्कन हुने गरेको देखिएकोले आगामी दिनहरूमा कुनै पनि कार्यक्रमहरूका लागि (फोन, म्यासेज तथा सामाजिक संजालको माध्यामबाट) चन्दा आव्हान गर्न नपाईने, यदी कसैले स्वेच्छाले दिएमा स्वीकार गर्ने तर सामाजिक संजालमा चन्दादाताले दिएको रकमबारे प्रचारप्रसार गर्न नपाइने, कार्यक्रममा चन्दादाताले दिएको रकम उल्लेख नगरी चन्दादाताको रुपमा नाम मात्र उल्लेख गर्न पाईने निर्णय गरेको छ ।

त्यस्तै अष्ट्रियावासी नेपालीहरू तथा संघसंस्थाहरूविचमा रहेका असमझदारीहरू सिधै सामाजिक संजालहरूमा पोख्न नपाइने पनि निर्णय गरेको  छ । त्यसो गर्दा आम अष्ट्रियावासी नेपालीहरूकै इज्जतमा आँच आउने गरेको तथा एक–आपसमा रहेको व्यक्तिगत तथा संस्थागत दुश्मनी समेत मौलाउने संभावना रहेकोले आगामी दिनहरूमा सामाजिक संजालहरूमा कुनै पनि संघसंस्थाहरू तथा व्यक्तिलाई लक्षित गरेर नकारात्मक (गालीगलौच, मानहानी) टिकाटिप्पणीहरू गर्न नपाईने, यदी कसैले त्यस्तो गरेको पाईएमा उक्त विषयमा वृहत सामाजिक छलफल साथै निजलाई सामाजिक रूपमै नसियत दिन सकिने गरिको बैठकले निर्णय गरेको छ ।

संयुक्त बैठकमा गरिएका निर्णयहरू फेरवदल गर्नुपर्ने महशुस भएमा पुनः संयुक्त बैठक बसेर पुनर्विचार तथा निर्णय गर्न सकिने निर्णय पनि निर्णय भएको पनि उल्लेख छ ।