काठमाडौं– वैधानिक रुपमा अफगानिस्तान पुगेका १ हजार ५ सय ८६ नेपाली फर्काउने प्रक्रिया सुरु भइसकेको छ। सोही अनुसार मंगलबार बिहानमात्रै ११८ नेपाली काठमाडौं आइसकेका छन्।
परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालका अनुसार अफगानिस्तानस्थित अमेरिका, बेलायत, इयु, जापान, क्यानाडा, जर्मनी, युएनको एजेन्सिज तथा दूतावासहरुमा गरी वैधानिक रुपमा कार्यरत १ हजार ५ सय ८६ नेपाली छन्। ती दूतावास तथा निकायमा कार्यरत नेपालीहरुको उद्दारका बारेमा सम्बन्धित नियकालयले लिखित पत्राचार गरिरसकेको र सोही अनुसार उद्दारको काम पनि भइरहेको लम्सालले नेपाल लाइभलाई बताइन्।
उनका अनुसार वैधानिक रुपमा अफगानिस्तानमा रहेका नेपाली मध्ये धेरैजसो त्यहाँबाट निकालिसकिएको छ। उनीहरुलाई सम्बन्धित दूतावास तथा निकायका कर्मचारी उद्दार गरिँदा ती निकायले उद्दार गरेका हुन्।
अफगानिस्तानमा तालिबानले कब्जा गरेसँगै उनीहरुलाई सम्बन्धित दूतावासले उद्दार गरेर होटलहरुमा राखेको थियो।
३२४ जना सम्पर्कमा
अवैधानिक रुपमा व्यक्तिगत ढंगबाट अफगानिस्तान पुगेका नेपालीहरुको संख्या भने अहिलेसम्म यकिन हुन सकेको छैन। अहिलेको मुख्य चुनौती भनेकै अवैधानिक रुपमा अफगानिस्तान पुगेका नेपालीहरुसम्म सम्पर्क गर्नुरहेको लम्सालले बताइन्। ‘वैधानिक रुपमा अफगानिस्तान पुगेकाहरुको त उद्दार सुरु भइसकेको छ, अबको मुख्य चुनौती भनेको अवैधानिक रुपमा पुगेका नेपालीहरुको हो। उहाँहरु कतिको संख्या हुनुहुन्छ? कतिजना हुनुहुन्छ? भन्ने यकिन हुन सकेको छैन’ लम्सालले भनिन्।
सोमबार साँझसम्म भने अवैधानिक रुपमा अफगानिस्तानमा रहेका ३२४ जना नेपालीहरु सम्पर्कमा आएको उनले बताइन्। अहिले पनि परराष्ट्र मन्त्रालयले सम्कर्पमा आउने भन्दै सूचना जारी रहेको छ। त्यहाँ कार्यरत नेपालीहरुको यकिन भइसकेपछि उद्दारको काम जतिसक्दो छिटो हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।
नेपाल आइपुगेकाहरुको यस्तो छ व्यवस्थापन प्रक्रिया
अफगानिस्तानबाट उद्दार गरेर नेपाल ल्याइपुर्याइएकाहरुलाई स्वास्थय मापदण्ड पूरा गरेर आइसोलनमा राख्ने व्यवस्था मिलाइएको नेपाली सेनाले जनाएको छ। नेपाली सेनाका प्रवक्ता सहायक रथी सन्तोषबल्लभ पौडेलका अनुसार उनीहरुलाई सामाखुसीमा रहेको राधास्वामी आइसोलेन सेन्टरमा लगेर राखिने छ। उनीहरुको एन्टिजेन परीक्षण हुन्छ।
त्यसपछि एन्टिजेन परीक्षणको नतिजाको आधारमा आइसोलनमा राख्नुपर्नेलाई आइसोलेसन र घर पठाउनु पर्नेलाई होम आइसोलनमा बस्ने गरी पठाइने प्रक्रिया मिलाइएको उनले बताए।