सिडनी – चिसो र लकडाउनका बीच एनआरएनए अष्ट्रेलियाको चुनावी सरगर्मी भने एकाएक बढेको छ । आगामी जुलाई ३१ तारिखका दिन हुन गइरहेको निर्वाचनमा लोकतान्त्रिक समूहबाट नन्द गुरुङ र वामपन्थी गठबन्धनतर्फबाट ज्ञानेन्द्र रेग्मी प्रतिष्पर्धामा उत्रिएका छन् ।
चाख लाग्दो कुरा के छ भने वर्तमान एनआरएनको टीममा गुरुङ र रेग्मी दुवै लोकतान्त्रिक समूहबाट प्रवक्ता र महासचिवका पदाधिकारी हुन् । लोकतान्त्रिक समूहबाट आगामी कार्यकालको निर्वाचनमा प्रतिस्पर्धा गर्न नन्द गुरुङ र ज्ञानेन्द्र रेग्मीसहित चार जनाले इच्छापत्र बुझाएर आन्तरिक प्रतिष्पर्धामा सामेल भएका थिए । लोकतान्त्रिक समूहले नन्द गुरुङलाई अध्यक्षको उम्मेदवार र ज्ञानेन्द्र रेग्मीलाई आइसीसीको ओसिनिया क्षेत्रीय संयोजकको रुपमा अगाडि सार्ने निर्णय गरेको थियो ।
लोकतान्त्रिक समूहको निर्णयबाट असन्तुष्ट रेग्मी उक्त समूह नै त्यागेर एकाएक वामपन्थी गठबन्धनको उम्मेदवार बन्न पुगेका छन् । यसअघि बामपन्थी समूहबाट अध्यक्ष उम्मेदवारको रुपमा चर्चामा रहेका देव गुरुङलाई पुनः न्यू साउथ वेल्सको कोअर्डिनेटर दोहोर्याउन लगाइएको छ । नेपालमा एमाले विभाजन भएसँगै अष्ट्रेलियाको नेपाली समुदायको बामपन्थी राजनीतिसमेत केपी ओली र माधव नेपाल दुई समूहमा विभाजित छ । विभाजीत र कमजोर अवस्थामा रहेका वामपन्थीहरूले आफ्नो अस्तित्वको लागि लोकतान्त्रिक समूहबाट वागी बनेका ज्ञानेन्द्र रेग्मीसँग चुनावी गठबन्धन गरेको देखिन्छ ।
यसअघि दुई कार्यकाल लोकतान्त्रिक समूहबाट प्रवक्ता र महासचिव बनेका रेग्मी अचानक वामपन्थी गठबन्धनको उम्मेदवार बनेपछि लोकतान्त्रिक समूह आक्रोशित बनेको छ । लोकतान्त्रिक समूहबाट अध्यक्षको उम्मेदवार बनेका नन्द गुरुङ यसअघि पनि सोही समूहबाट अध्यक्षका दावेदारका रुपमा उभिएका थिए र अन्तिम समयमा वर्तमान अध्यक्ष केशव कडेललाई समर्थन गरी सहयोग गरेका थिए । न्यू साउथ वेल्स राज्यको संयोजक रहीसकेका गुरुङ निकै सरल र एनआरएनए संस्थाप्रति प्रतिवद्ध समाजसेवीका रुपमा चिनिन्छन् ।
यता रेग्मीले आफूलाई अन्याय भएको भन्दै वामपन्थी गठबन्धनको उम्मेदवार बनेपनि एनआरएएनका वर्तमान पदाधिकारीहरू भने रेग्मीले विगतको दुई वर्ष कार्यकालमा कुनै काम नगरेको र सधै अध्यक्ष र अन्य पदाधिकारीसँग लडेर विताएको आरोप लगाउँछन् । संस्थाको महासचिव जस्तो जिम्मेवार पदमा बसेपनि एनआरएनएको कुनैपनि सामाजिक कार्यक्रममा सहयोग नरहेको गुनासो उनीहरुको छ । फोन नउठाउने, समयमा मीटिङ कल नगर्ने, मीटिङको माइन्यूट नलेख्ने, लेखी हालेपनि गोलमटोल गरेर लेख्ने र टीमसँग सहकार्य गर्न नखोज्ने उनको विगतबाट बोर्डका सदस्यहरू समेत आजीत भएको एक बोर्ड सदस्य बताउँछन् । महासचिवको हैसियतले पठाउनु पर्ने ईमेल समेत महासचिवको नाममा बोर्डको अन्य सदस्यले पठाइदिने गरेको रहस्य खुलाउँदै उनले भने– “महासचिवले डेढ वर्षदेखि कुनैपनि मीटिङको माइन्यूट गरेका छैनन्, त्यसैले डेड वर्षदेखि हरेक मिटीङको रेकर्डीङ गर्ने गरिएको छ ।”
महासचिव रेग्मीको कार्यशैलीप्रति रुष्ट हुँदै उनले भने– “तपाई पत्याउनु हुन्छ, एनआरएनएले कोभिड– १९ को सुरुवातमा गरेको राहत वितरण, रिर्पाटेशन फ्लाइट र नेपालमा कन्सन्टेटर पठाउने कुनै पनि काममा रेग्मी सहभागी भएनन् तर प्रायोजित मिडिया प्रचारमा भने सवैभन्दा अगाडि देखिए ।”
“अहिले यसो गर्छु र उसो गर्छु भन्दै प्रचारमा आएका छन् । यो सबै वकवास हो । एनआरएनएलाई समय दिन सक्ने भोलिन्टियर चाहिएको छ । रेग्मीले समय दिन सक्दैनन्, महत्वाकांक्षा मात्र हो”, उनले प्रष्ट पार्दै भने ।
लोकतान्त्रिक समूह भिक्टोरिया र वेष्टर्न अष्ट्रेलिया राज्यको स्टेट कोर्डिनेशन काउन्सिलमा सम्पूर्ण पदाधिकारीहरू निर्विरोध निर्वाचित भइसकेका छन् भने नेशनलको कोषाध्यक्ष र डेपुटी यूथ कोर्डिनेटरमा पनि क्रमशः अनिल पोख्रेल र चन्द्र तिवारी निर्विरोध निर्वाचित भएका छन् ।
लोकतान्त्रिक समूहबाट महासचिवमा राजु अधिकारी, सचिवमा सन्ध्या शाह, सह–कोषाध्यक्षमा राजकुमार नगरकोटी र युवा संयोजकमा बवीन मिश्र छन् भने वामपन्थी गठबन्धनबाट महासविचमा अच्यूत थपलिया, सचिवमा तीर्थराज कार्की, सह–कोषाध्यक्षमा कर्ण यादव र युवा संयोजकमा महेश प्रसाई प्रतिष्पर्धामा छन् । तर लोकतान्त्रिक समूहको अगाडि बामपन्थी समूह निकै कमजोर देखिन्छ । समग्रमा लोकतान्त्रिक समूह निकै बलियो रहेको दुई राज्यमा निर्विरोध निर्वाचित हुनुले पनि प्रष्ट पार्दछ ।
अध्यक्षको प्रतिष्पर्धामा केही रस्साकस्सी देखिएपनि लोकतान्त्रिक समूहका नन्द गुरुङ प्रतिष्पर्धामा निकै अगाडि रहेको समुदायका जानकारहरू बताउँछन् । साउथ अष्ट्रेलिया, क्वीन्सल्याण्ड, तासमानिया, नर्दन टेरीटोरी र एसीटीमा लोकतान्त्रिक समूह निकै बलियो रहेको देखिन्छ भने सबैभन्दा ठूलो राज्य न्यू साउथ वेल्समा वर्तमान संयोजक देव गुरुङ र लोकतान्त्रिक समूहका तर्फबाट उम्मेदवार बनेकी प्रतिज्ञा अधिकारीबीच कडा प्रतिष्पर्धा हुने देखिन्छ । सैनिक सेवाबाट निवृत्त गुरुङ वर्तमान संयोजक रहेका कारण चर्चामा छन् भने महिला समाजसेवी अधिकारीले यसअघि नारी निकूञ्जमा रहेर आफूलाई स्थापित गराइसकेकी छन् । प्रखर वक्ता र अनुभवी समाजसेवी महिला भएका कारण प्रतिज्ञा अधिकारीको स्थिति निकै बलियो देखिन्छ । एनआरएनएलाई संस्थागत रुपमा विकास गर्न र समुदायको हितमा काम गर्ने आफूसँग थुप्रै योजना र फरक दृष्टिकोण रहेको दावी गर्ने अधिकारी चुनावी प्रतिष्पर्धामा निकै अगाडि देखिएकी छन् ।
आफुसंग भएको भोट वैंक समावेशी समुहका सवै उम्मेदवारहरुलाई पार्ने प्रतिवद्धता जनाएका रेग्मीले पछिल्ला दिनहरुमा आएर आफ्नै लागि मात्र भोट मागेका प्रमाणहरु भेटिएछि रेग्मीको रवैयावाट समावेशी समुह शशंकित वनेको छ । रेग्मीले विभिन्न राज्यका स्थानीय कांग्रेस नेताहरुलाई टेलिफोन गरि आफ्नो लागि मात्र मत मागेको, महासचिव लगायतका पदमा कांग्रेस समर्थितलाई नै आफ्नो सहयोग रहने गरेको लगायतका सूचना आफूलाई आएको र विगतकै अविश्सनिय रवैया अपनाएको समावेशी खेमाले आरोप लगाउन थालेका स्रोतले वताएको छ ।
यसैवीच, क्विन्सल्याण्ड राज्यका एक मतदाताले एनआरएन निर्वाचनका लागि मतदाता नामावली प्रयोजनमा मात्रै दर्ता भएको आफ्नो टेलिफोन नम्वर एनआरएन बोर्डवाटै लिक गरिएको प्रति उजुरी गरेका छन् । इञ्जिनियरिङ्ग पेशामा रहेका ति ब्यक्तिले एनआरएन निर्वाचनका लागि मतदाता फर्म भर्दा टेलिफोन नम्वर राख्नै पर्ने भएकाले नयाँ फोन नम्वर लिई त्यसलाई एनआरएनएमा नाम दर्ता गर्दा प्रयोग गरेक थिए । तर केही दिनअघि सो नम्वरवाट अध्यक्ष पदका उम्मेदवारले आफुलाई मतदान गर्न सोही नम्वरमा मेसेज पठाएपछि आफ्नो ब्यक्तिगत गोपनियताको हक एनआरन भित्रै वाट लिक गरिएकोमा अध्यक्ष केशव कँडेल समक्ष उजुरी गरेको सार्वजनिक भएसंगै यो विषयले अष्ट्रेलियाको नेपाली समाज आक्रोशित भएको छ । यदि एनआरएनएले यो विषय नसल्टाए आफु कानुनी उपचारमा समेत जाने ति ब्यक्तिले वताएका छन् ।