कुवेतका लागि राजदूत दुर्गाप्रसाद भण्डारी तथा कुवेत सरकार, परराष्ट्र मन्त्रालयका उप-विदेश मन्त्री महामहिम अहमद इब्राहिम अल-धफीरी बीच कुवेत सरकारको परराष्ट्र मन्त्रालयमा शिष्टाचार भेटघाट सम्पन्न भएको छ ।
सो भेटका अवसरमा नेपाल-कुवेत बीच रही आएको द्विपक्षीय घनिष्ठ सम्बन्ध तथा आपसी हितका विषयमा कुराकानी भएको कुवेत स्थित नेपाली राजदूतावासले जनाएको छ ।
उक्त अवसरमा विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरसको संक्रमण, कुवेत र नेपालमा कोभिड-१९ को संक्रमणको हालको अवस्था लगायत संक्रमण रोकथाम तथा उपचारको क्षेत्रमा दुई देशबीच आपसी सहयोग अभिवृद्धि गर्ने विषयमा छलफल भएको थियो ।
नेपाली कामदारहरूले कुवेतको श्रम बजारमा प्राप्त गरेको रोजगारीको अवसर तथा यस क्षेत्रमा पुर्याएको योगदान, रोजगारीको सुरक्षा र हालको अवस्था लगायत थप अवसरहरूमा नेपालीहरूको संलग्नता अभिवृद्धि गर्दै लाने विषयमा पनि उहाँहरू बीच छलफल भएको थियो । साथै कोभिड-१९ को संक्रमणको अवस्थालाई मध्यनजर गर्दै दुई देशबीचको आवतजावतलाई पनि थप सहज बनाउँदै लैजाने लगायतका विषयमा पनि कुराकानी भएको नेपाली राजदूतावास कुवेतले जनाएको छ । उक्त भेटमा कुवेत सरकार, परराष्ट्र मन्त्रालय तथा नेपाली राजदूतावासका अन्य अधिकारीको पनि सहभागिता रहेको थियो ।