September 26, 2021, Sunday
२०७८ आश्विन ११
1:37:26 pm

बुद्ध जयन्तीको अवसरमा चारधाम भ्रमणको सम्झना !

1.4K

सन् २०१८ को जनवरी २३ बिहान ५ बजेतीर नेपालबाट हितमान मामाको फोन आयो । हिजो राती १ बजे सासु आमाको स्वर्गारोहण भएको जानकारी गराउनुभयो । शब लामो समय राख्न नमिल्ने हुदा आजै सदगत गर्ने सल्लाह भएको सुनाउनुभयो । ‘मिनु पनि आउदैछे मिल्छ भने कुर्नुहोला’ भनें । म कोशीस गर्छु भन्नुभयो तर केही समय पछि सबैले हुन्न भनेकोले संभव भएन भन्नुभयो । यता दिउसो छोरीको दिक्षान्त समारोह थियो । म यही कार्यक्रमको लागि हिजो मात्र लण्डन आएको थिएँ, मिनुलाई जानकारी गरायो भनेअवस्था सम्हाल्न नसकिने र २४ तारिख बिहानैको नेपाल उड्ने टिकट भएको हुदा मैले कसैलाई पनि भनिन । मिनु केही दिन देखि ढाडको समस्याले थकित थियो । उसमा कुनै ताकत थिएन नेपाल गएर आमाको हेरचाह गर्ने ठूलो इच्छा राखेको थियो ।

यस बर्ष दशैमा नेपाल जाँदा केही समय उतै बस्ने भन्दै थिइ । मेरो अडान र अड्कने कामले मिनुका भाइहरु पनि यतै भएकाले लण्डनमा  छोरीहरु मात्रै भएकोले जानुपर्ने महत्व देखाएर संझाई बुझाई पठाएको थिए । यति छिटै आमाको देहावसन होला भन्ने लागेको थिएन । पहिला छोरा कुन्दनले केही समय हेरचाह गर्यो, त्यसपछि कान्छो छोरा इन्दु नेपाल गयो । फेब्रुअरीमा मिनु नेपाल जाने र आमाको सेवा गर्ने योजना बनेको थियो । तर सबै कुरा सोचे जस्तो भएन त्यस माथि स्वास्थ्यको सम्बन्धमा केही भन्न नसकिने रहेछ । आमाको स्याहार सुसार गर्न नपाउनु अन्तिम अवस्थामा उपस्थित हुन नसक्नुमा मिनुको पश्चाताप अझै छ, थकथकी बाँचेकोछ ।

Advertisement

सबैको दोष म माथि पनि लाउछिन्, मैले पनि गल्ती स्वीकार्नु बाहेक अर्को विकल्प देख्दिन । तर आजभोलि एउटा विचारले घर गरेको छ, म भित्र । आज-भोलि जहिले सुकै मैले आमा सम्झिदापनि मलाई कुर्नको लागि घरमै राखिएको शब अनि शब-वाहनमा राखेर अन्तिम दाहसंस्कार गर्नको लागी आर्यघाट पुगेको दृष्य संझन्छु । पशुपतिमा दिएको अन्तिम श्रद्धाञ्जलीमा मृत शरिरमा छोपिएको पहेलो कपडाबाट देखिने अनुहारमा एक अन्जुली जलद्धारा सिंचीत गरेको पल मात्रै सम्झन्छु । त्यस पछि मात्रै अन्य पलहरु सम्झन्छु । मैले ति दृश्यहरु देख्न नपरेको भए आमाको हँसिलो अनुहार हामीसंग बिताएका क्षणहरु नै झ्वाट्ट सम्झिन्थे होला जस्तो लाग्छ । यही अवस्था मेरो ठुलो दाइको हकमा पनि लागु हुन्छ। वहाँ भारत जानुभएको र छिटो सम्पर्क गर्न नसकिएको कारण आमाको अन्त्यष्टि पछि मात्रै घर आइपुग्नु भएको थियो । बिरामी आमाको उपचार गर्न कै लागि डाक्टर भएर जीवन भरसेवा गर्नु भयो तर अन्तिम अवस्थामा देख्न पाउनु भएन । म सात समुन्द्र पारि बस्ने मान्छे भोलि पल्टै पुगेर दागबत्ति दिन पाएँ । यो पनि बिचित्र कै प्रारब्ध भयो । म नेपाल अल्झनुको कारण भन्दा मिनु नेपाल बसेर सेवा गर्ने पलहरु महत्वको हुने थिए तर यसरी घटना घट्ला भनेर सोच कहिल्यै आएन । म कारण बन्नुमा दोष या जे भने पनि ‘हुने हार दैव नटार’ भने झैं जे हुने हो त्यो हुन्छ, जसरी पनि हुने रहेछ, कतिपय कामहरु हामीले सोचेजस्तो, गरेजस्तो र भनेजस्तो नहुने रहेछन । आमाको संझना आउदा सधै निरोगी हाँसेको स्फुर्त आमाको तस्विर आँखामा आउनु पनि राम्रो नै हो भनेर मन बुझाउन सके अलि हल्का बनाउने रहेछ ।

मिनु नेपाल जाने दिन त राम्ररी गोडा पनि चलाउन सक्ने अवस्था थिएन । काठमाण्डौमा निर्मलजीको भाइ गणेशलाई एयरपोर्टमा सहयोगका लागि भनेका थियौं । बाटोमा यो कुरा थाहापायो भने गाह्रो  होला भन्ठानेका थियौं । नभन्दै सामाजिक संजालमा फोटो सहितको श्रद्धाञ्जली र समवेदनाले भरिन थाले । मस्कटमा लामो समय ट्रान्जिट थियो । मैलेफोन अघिल्लो दिन देखि नै आफैंसँग राखेको थिए र नेपाल लग्न पर्दैन भनेको थिएँ । पछि एउटा सेट त चाहिन्छ नि भनेपछि दिएको थिए । बाटोमा फेसबुक हेर्ला कि भन्ने डरले उसलाई ट्याग गर्नेहरुलाई हटाउन भन्यौं तर सबैलाई भन्न संभव थिएन । पछि छोरीलाई भनेर पासवर्ड नै चेन्ज गर्यौं र ढुक्क हुने अवस्था आयो । यसरी काठमाण्डौ नपुगेसम्म उसलाई घटना थाहा पाउनुबाट बन्चित राख्न सफल भयौं । यो घटनाले के सिकायो भने परिवारमा कतिपयले घटनाको बारेमा थाहा नभएका घरका अन्य सदस्यलाई सामाजिक संजालमा ट्याग गरिदिएर अनावश्यक प्रताडना दिनु गलत हो । संचार प्रविधीको खराब पक्षपनि व्योहर्न परेकोमा हामी चिन्तीत थियौं । सासुआमाको दाहसंस्कारपछि केही अस्तु बाँकी राखीएको रहेछ । इन्दुले घरको बगैचामा एउटा चिबा बनाउने र त्यहाँ आमाको अस्तुराख्ने र हामीले पनि ठैबको घरमा चिबा बनाउने सल्लाह गर्यौ । आमाको अस्तु कुनै बुद्धभूमिमा लग्ने कुरा भयो । मिनु र म बोधगया, सारनाथ, कुशीनगर र लुम्बीनी जाने भयौं । एकचोटी नमोबुद्धमा पनि जाने कुरा भयो र निलुदिदी, विश्वदाई, राजेश र हामी त्यता गयौं ।

फेब्रुअरी १३ गते रातीको बसबाट हामी वीरगंज हिड्यौ । भोलीपल्ट बिहान ५ बजेतिर रक्सौल पुग्यौं र रेलबाट पातलीपुत्र हुँदैं गया गयौं । स्टेशनको अगाडि एउटा गुलाफको फुल किनेर मिनुलाई दिएर भ्यालेनटाइन डे भनियो । बेलुकी ८ः३० तिर बोधगया पुग्यौं । अस्तु घर भित्र लान नमिल्ने हुँदा सिधै बोधगया पुग्नुपरेको थियो । त्यहाँ नमबुद्धका एकजना लामासँग भेट भयो र अस्तु उनैलाई जिम्मा दियौं। उहाँले नै नजिकैको होटल लुम्बिनीमा बासको प्रबन्ध गरिदिनु भयो । भोलिपल्ट बिहान नुहाइधुवाइ गरेर बोधगया स्तुपामा गयौं । बौद्ध परम्परा अनुसार बिधिवत पाठ पढेरआमाको अस्तु त्यहीको पोखरीमा बगाइदियौं । त्यहाबाट हामी सारनाथ जाने टिकटमिलाउन ट्राभल अफीसमा पुग्यौं । गयाबाट रातीको टिकट मिलाएर हिड्यौ । मेरोआमाको पिण्ड दिने कुरा पनि थियो टिकट मिलाउने मान्छेले पीतृको पिण्ड दिने सबैभन्दा उत्तम ठाउ भनेर बिष्णुपद पिठ भनेकोले त्यही गयौं । बालुवा मात्रै देखिने समुन्द्र रहेछ । पिण्ड दिनका लागी अरु धेरै मान्छेहरु पनि आएका रहेछन् । स्थानीय ब्राह्मणहरुसँग भेट भयो । नेपाली मुलका तर लामो समय देखि त्यहीं बसोबास गर्दैआएका रहेछन् । अचम्मको चलन के देखियो भने पूजापाठ सबै बाहुनले सकाए पछि अन्तिममाआर्शिवाद लिन पाण्डाकोमा जानुपर्ने र दक्षिणा दिनै पर्ने रहेछ । त्यहा माथी सबै बालुवादेखिए पनि भित्र बाट पानी बग्छ भन्नेगरेको पाइयो । अलिकती खनेपछि पानी पनि भेटियो । पानी जम्मा गर्नका लागी डरम पनि राखेको देखियो । सीताको सराप लागेर पानी सुकेको र भित्रभित्रै मात्र बगेको भन्ने पौराणिक कथन रहेछ ।

बुद्धले ध्यान गरेको बोधिबृक्षसँगै ठूलो स्तुपा बनाइएको बोधगया बौद्धधर्मावलम्बीहरुका लागी पुग्न पर्ने अनिवार्य स्थल हो । बुद्धले ज्ञान प्राप्त गरेको बोधगयामा संसारभरीका बुद्धधर्मीहरु आस्था राख्नेहरु आउने गर्दछन् । फरक-फरक देशका भिक्षुहरुले फरक-फरक  रंगको पोशाक लगाइने कुरा त्यहाँ पुगेर मात्र थाहा भयो । फेब्रुअरीको १५ को राती १ बजे रेलबाट हामी वाराणसीको बिचमा अवस्थित बिष्णुको मन्दिरमा लामो लाइन बसेर पुजा गर्न पुग्यौं । मन्दिर खुलेपछि बन्द नभएसम्म सारै नै ब्यस्त रहने रहेछ । हिन्दूहरुका लागि महत्वको थलो भएकोले पनि होला जहिले पनि व्यस्त नै हुने । त्यहाबाट टेम्पो लिएर हामी सारनाथ पुग्यौं । बुद्धले ज्ञान प्राप्त गरिसकेपछि पहिलो चोटी पाँचजना शिष्यलाई शिक्षा दिएको स्थान भनेर यो ठाउ परिचित छ । अजंगका भग्नावशेषहरु रहेको सारनाथमा विश्वभरीका बुद्ध अनुयायीहरुको भिड हुनेगर्छ । त्यहाँको एउटा स्तुपामा बुद्ध जन्मेको, ज्ञान पाएको, पहिलो प्रवचन दिएको, र मोक्ष प्राप्त गरेको स्थल भनी, क्रमशः लुम्बिनी नेपाल, बोधगया, सारनाथ र कुशीनगर भनेर स्पष्ट लेखेको देखियो । राजनैतिक रुपमा फाइदा लिन चाहने भारतीय बाहेक अन्य भारतीयहरुलाई बुद्धको जन्मस्थान बारे भ्रम रहेनछ भन्ने लाग्यो ।

त्यही राती उत्तरप्रदेश राज्यसरकारले संचालन गरेको बसबाट हामी गोरखपुर हिड्यौं । यो बस यति पुरानो र कारुणिक थियो कि नेपालमा २० बर्ष पहिले चलेका बस बरु राम्रा सुकीला थिए । तर बस भने बेजोडले कुदाउने रहेछ । हावाले गर्दा सारै चिसो भयो सुत्ने कुरै भएन । बिहान गोरखपुर पुगेपछि रेल्वे नजिकैको होटलमा केही समय आराम गर्यौं र घुम्यौं पनि । दिउसो २ बजे बसबाट कुशीनगर पुग्यौं । त्यहाँपुगेपछि अर्कै अनुभूती भयो । राज्यसरकारले पर्यटकीय स्थलहरुमा आफैले होटल संचालन गर्ने गर्दो रहेछ । हामी त्यहीं पथीक होटलमा बस्यौं । राम्रो व्यवस्थापन थियो त्यहाँ । सबै सहयोगी देखिन्थे, एकछिनको आरामपछि पैदल यात्रामा बुद्धले परिनिर्वाण गरेको स्थानसम्म पुग्यौं । सघन वातावरण, शान्तिको अनुभव गर्न पायौं । तीन घण्टा जति बसेर विभोर भयौं, बाहीरतीर चियाका पसलहरु लहरै थिए । केही खाजा पनि खायौं । भोलीपल्ट बिहान पनि फेरी हिडेरै पुगेका थियौं । मिनुले लामै ध्यान बस्यो । यो ठाउँ चुम्बकीय शक्तिभएको स्थानजस्तो अदृष्य उर्जा चारैतीर फैलीएको सहज अनुभव हामीले गरेका थियौं । म भने बाहिर आएर चियापसले सँग कुरा गरी बसेको थिए ।

पसले रोजगारीको लागी केही बर्ष इराक तिर गएका रहेछन् त्यहाबाट फर्केर २० बर्षदेखी यही चिया पसल चलाइरहेका रहेछन् । भएका दुइछोराहरुलाई राम्रो शिक्षा दिने प्रण गरेका रहेछन् । मैले साटेको पैसा सकिएकोले नजिकै एटिएम छ कि भनेर उनलाई सोधे तर नभएको बताएपछि के गर्ने होला भन्ने मेरो अन्यौलता देखेर उनले १, २ सयले हुनेभए लैजानु भनेको सुन्दा तिनछक परें । अब भेट कहिले होला? यस अघि कहिल्यै देखभेट नभएको मान्छेले त्यो पनि भारतमा यस्तो घटना घट्नु आश्चर्य थियो । कस्तो सहयोगी मन रहेछ भन्ने लाग्यो र मनमनै धन्यवाद दिए । मिनु आएपछि सँगै दुबैजनाले चियानास्ता खायौं । मिनुसँग कति पैसा बाँकी रहेछ भनेको सबै गनेर ८० रुपैयाँ छ भनेको पसलले सुनेछ । पैसा तिर्ने बेला आजको खाजा मेरो तर्फबाट भयो, पैसा तिर्नुपदैन जानुस् भन्यो । हामीले हुदैन भने पनि उसले चाहिदैन भनि रह्यो । तर हामीले पैसा लिन कर गरे पछि उसले ८० रुपैया भयो, भन्यो र हामी संग भएको सबै पैसा दियौं । जानेबेलामा उसको मोबाइल नम्बर मागेको थिए पछि काठमाडौ पुगेर फोन पनि गरे। सोचे यस्ता मनकारी मान्छेसँग भेटले यात्रालाई यादगार बनाउने गर्छ, संयोग मिल्यो भने फेरी कुनै दिन भेट होला नै । कुशीनगरबाट गोरखपुर हुदै लुम्बिनी जान पर्ने थियो, गोरखपुर पुगेपछि ट्याक्सीमा जाने कुरा भयो । पाँचजना सवारी लिएर जाने चलन रहेछ । दुइजना भारतीय थिए, ती मध्य एकजना महेन्द्र यादव सँग त बेलाबेलामा फेसबुकमा कुराकानी पनि हुन्छ । अर्को एकजना नेपाली रहेछन भारतको पल्लो कुनामा काम गर्ने, मोबाइलमा गीत सुन्दै रमाइलो कुराकानी गर्दै हामीले बाटो कटायौं । राती भैरहवा पुग्दा लुम्बिनी जाने बस चल्न छोडि सकेको थियो । फेरी ट्याक्सीमा जानुपर्ने भयो । चालक पनि रमाइलो रहेछ । पहिले बस चलाउदा दुर्घटनामा परेर काठमाण्डौको अस्पतालमा भर्ना भएको र त्यही काम गर्ने नर्ससँग प्रेम भएर भगाएर लिएर हिडेको घटना सुनाएका थिए ।

कथा सबैसँग हुन्छ, केश काट्ने हजाम, रिक्सावाल, ट्याक्सीवाला सबैसँग रमाइला कथा हुन्छन्, उनीहरु भन्न रुचाउछन् र सेयर पनि गर्छन । उनको कथा सुनेर बाटो कटेको पत्तै भएन । राती लुम्बिनी माया मन्दिर नजिकैको होटलमा बास बस्यौं । लुम्बिनी आइपुग्दा त घरै पुगेको जस्तो पो भयो । फरक वातावरणमा आउनुले पनि सारा थकान मेटिए जस्तो भयो । भोलिपल्ट स्तूपा भ्रमण गर्यौं, मायादेवी मन्दिर दर्शन गर्यौं । त्यहाको एउटा पुरानो पिपलको रुख काटिएकोमा चिन्ता व्यक्त गर्यौ । त्यहाँ शान्ति दिदीसँग पनि भेट भयो, जेतवन ओशो आश्रममा पनि गयौं । राम्रो व्यवस्थापन देखियो । सबै निर्माण योजना पछि यो ठाउ अझै सुन्दर देखीनेछ भन्ने लाग्यो । यसरी हामीलाई बुद्धको महत्वपूर्ण स्थलहरु एकैचोटी भ्रमण गर्ने अवसर प्राप्त भयो । करीव ६ दिनको दौरानमा हामी धेरै स्थानहरुमा पुग्न सफल भयौं । विना तयारी जहाँ पुग्यो त्यही योजना बनाइअघि बढ्ने यात्रा पनि रमाइलो नै हुने रहेछ ।

भारतमा भ्रमण पछि नेपालमा आउदा लाग्यो यहाँको गाडी व्यवस्थापन निकै राम्रो छ । नेपाललाई सुन्दर बनाउन धेरै मेहनत गर्न नपर्ने रहेछ । विहारमा मदिरा सेवनमा रोक लगाएको थाहा पाउदा अचम्म लाग्यो । अब उत्तरप्रदेशमा पनि लागु गर्न लागेका रहेछन्। यसबारे एउटा घटना पनि सुनियो, विहारको एकजना व्यक्ती विवाह सकेर उत्तरप्रदेशमा आफन्तकोमा गएका रहेछन । त्यहा मदिरा सेवन गरेर सोही दिन विहार फर्कदा प्रहरीले पक्राउ गरेछ र तीनमहिना जेल सजाय भोगेपछि मात्र घर फर्केका रहेछन् । अहिले ‘स्वच्छ भारत’ भन्ने अभियान पनि चलेको छ । दिशामुक्त क्षेत्र बनाउन अनिवार्य शौचालय बनाउने भनेकाहरुको गतिविधि जायज भएपनि रेलमा प्रयोग गरिएको सबै फोहोरमैला लिकमा विसर्जन गर्नु बाट कसरि दिशामुक्त शहर हुन सक्छ र? । भारतका बाटोहरुमा चालकहरुले गरेको मनोमानी र अनावश्यक विभिन्न ताल र बेसुरका हर्नहरुले च्यापेको अनुभव, नेपालमा भने विल्कुलै हर्न निषेध गर्ने कानुन बनेकोले गर्नु परेको छैन ।

यो भ्रमण हाम्रो विवाहको २६र्औ बैवाहिक बर्षगाठ पनि भएकोले पोखरामा बुवा, दाइभाउजुहरुको हातबाट आर्शिवाद लिन उचित ठान्यौं । बर्षगांठका अवसरमा बुवासँग यसरी कहिल्यै भेट भएको थिएन । लुम्बिनीबाट पोखरा आउने बस मुग्लिन चितवन खण्डको बाटो बनिरहेको कारण जाम भयर धेरै कुर्न पर्यो । त्यहि बिहान विप्लब पार्टीको नेपाल बन्दआव्हानको कारण बाटो सुनसान भैसकेको थियो । तर बस ड्राइबरले पोखरा पुर्याएरै छाड्यो । एकरात पोखरा बसेर २६ बर्ष अगाडी मिनुले बाग्लुगं छोडेकै दिन फरवरी २१ मा बाग्लुगं पुग्यौं । एकदिनको बसाइमा धेरै आफन्तहरुलाई भेट्यौं पुराना यादहरुलाई ताजा गरायौं । बेन्जु र बिष्णुजीलाई पनि लण्डनबाट फर्केपछि पहिलो चोटी भेट्यौं । यसरी १० दिनको द्रुत यात्रामा आमाको अस्तु देखि बुवाको हातको टिका लगाउदै बांग्लुगमा छोडेका पुराना स्मृतीहरुलाई बटुल्न पुग्यौं । सोच्यौं जीवन भनेकै यिनै यादहरुको संग्रह रहेछ । गर्न बाँकी कुराहरु, गरेका भुलहरु,सुन्न बाँकी कथाहरु जम्मै यही ठाउमा आएर खुल्ने अतितको आभा तापेर हामी आनन्दित भयौं ।

( लेखकको आत्म कथा “मेरो आधा शताब्दी” को एक अंश )