April 18, 2024, Thursday
२०८१ बैशाख ६
1:37:26 pm

चुम्लुङ ग्रेटर यूके शाखाको अधिवेशनबाट निर्वाचित कार्यसमिति

4.9K

लन्डन – किरात याक्थुङ चुम्लुङ यूकेको ग्रेटर लन्डन शाखा अध्यक्षमा पुराना चुम्लुङकर्मी देव आङबुहाङ निर्वाचित भएका छन् । शाखाको तेस्रो अधिवेशनबाट आङबुहाङ अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् ।

चुम्लुङ यूकेको सबैभन्दा पुराना शाखाहरूमध्ये एक मानिने ग्रेटर लन्डनको आइतबार सम्पन्न अधिवेशनले आङबुहाङको नेतृत्वमा १७ सदस्यीय कार्य समिति समेत निर्वाचित गरेको छ । उनी चुम्लुङ यूकेका संरक्षक सदस्य तथा स्थापनाकालदेखि शाखाको सल्लाहकार पदमा रहँदै पनि आएका थिए । ग्रेटर लन्डनको स्थापना सन् २०१२ मा याक्थुङ मिडलसेक्स सोसाइटी, याक्थुङ लन्डन सोसाइटी र कियाचु साउथ–इस्ट लन्डन शाखाको एकीकरणबाट भएको थियो । तत्कालीन समायोजन प्रक्रियामा आङबुहाङले समन्वयकारी भूमिका खेलेको चुम्लुङकर्मीहरूले बताउँदै आएका छन् । ब्रिटिस गोर्खा सैनिकका पूर्व वारेण्ट अफिसर देव आङबुहाङले युनिभर्सिटी अफ वेस्ट लन्डनबाट बिएस्सी र लन्डन मेट्रोपोलिटन युनिभर्सिटीबाट एमएस्सी गरेका छन् ।

भर्चुअल जुमबाट सम्पन्न अधिवेशनले उपाध्यक्षहरूमा रितुमान आङ्बुङ, बीना येक्तेन, झरना जवेगू, पदम योङ्हाङ, सचिवमा डम्बर लिवाङ, सहसचिवमा मनप्रसाद लिम्बु, कोषाध्यक्षमा राजेन्द्र नाल्वो, सहकोषाध्यक्षमा विमला लिम्बु निर्वाचित गरेको छ । त्यस्तै, सदस्यहरूमा बुद्धमाया लिम्बु, बबिता सुब्बा रहेका छन् । रिक्त रहेका बाँकी सदस्यहरूको पदपूर्ति आगामी कार्य समितिको बैठकले गर्ने नवनिर्वाचित अध्यक्ष आङबुहाङले जनाए ।

Advertisement

अधिवेशनको निर्वाचन समितिको संयोजकमा असारसिङ आङ्बुहाङ, सचिवमा टेक सुहाङ र सदस्यमा हस्त लिङ्खिम रहेका थिए । यूकेमा सन् २००३ मा कियाचुको स्थापना भएको थियो । जसअन्तर्गत १६ शाखाहरू सक्रिय छन् । नेफिनआबद्ध चुम्लुङलाई आदिवासी याक्थुङ लिम्बु जातिको प्रतिनिधिमूलक जातीय सामाजिक संस्थाका रूपमा हेरिन्छ ।