November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

मध्यपूर्व खाडीबाट सानो सहयोग मातृभूमिलाई

5.8K

कतिको अहिले राम्रो काम र व्यवासाय नभएको कारण आधा तलब पनि पाउन सकिरहेको अवस्था छैन , विश्व महामारीले आक्रान्त बनेको यो समय नेपाल पनि अछुतो रहन सकेन। विश्व महामारीको मारमा नेपाल संगको खुल्ला सिमा भएको देश भारतमा उग्र रुपमा फैलिएको कोभिड-१९ ले नेपालमा पनि धेरै असर मात्र पारेन अहिले सम्म हेर्दा खेरि स्थिति अझै भयबह नै हुन लागेको जस्तो देखिन्छ।  र देशको मुख्य शहरहरुमा अवस्था झन् जटिल बन्दै गएको छ। 

यस्तो अवस्था र आफ्नो देशको समाचार हेर्दा कसको मन अत्तिन्न होला र  ? यस्तो अवस्थामा बिशेष गरि रोजगारीको लागि मध्यपूर्व देश पुगेका नेपाली श्रमिकहरु अक्सिजन सिलिण्डर नेपाल पठाउनको लागि मुट्ठी खोल्न  सुरु गरेका छन्।  एनआरएनएले पनि यो कार्य सुरु गरेको छ तर मध्यपूर्वबाट पनि छुट्टै रुपमा ६०० ओटा सिलिन्डर नेपाल पठाउनको लागि तयारी गरेको छ।  यसको लागि नेपाली राजदुतावास ओमनले खेलेको भूमिका र मध्यपूर्वमा रहेको एनआरएनए प्रतिनिधि प्रति धन्यवाद दिनै पर्छ।  

नेपालमा राजनीतिक खिचातानी कुर्सी र कमिशनको खेलमा देशलाई समृद्धि बनाउछु भनेर लागेका राजनीतिक दलहरु आफ्नो सत्ता जोगाउन तल्लिन रहेको यो समयमा आफ्नो परिवारको सपना पुरा गर्न आएका मध्यपूर्वका नेपालीहरुले आफ्नो गाँस काटेर थोरै-थोरै जम्मा गरि नेपाल अक्सिजन सिलिण्डर पठाउन लागि परेका छन्। आफ्नो देश दुख्दा दुख्ने हामी परदेशीको मन अझ यो महामारीको अवस्थामा अक्सिजन नपाएका, अस्पातालमा बेड नपाएका, समयमा एम्बुलेन्स नपाएका यस्तै यस्तै समाचार हरेक दिन देखिरहंदा मन उत्तिकै पोलिरहेको हुन्छ। अकालमा ज्यान गुमाउन पर्दा चाहेर पनि बचाउन नसक्दा अनि अस्पातालहरुले बिरामी लिन नमान्दा मन अमिलो भएर आउछ।   

Advertisement

यस्तो समय केहि सानो सहयोग गर्न पाउँदा मनलाई पक्कै पनि केहि सान्त्वना मिल्छ ।  त्यसैले यसरी सानो-सानो सहयोगबाट ठुलो काम गर्न लागि परेका एनआरएनए  मध्यपूर्वका कुवेत, कतार, ओमान, युएई, बहराईन, साउदी अरेबियाका प्रतिनिधिहरुलाई सलाम।  अरु समयमा के कस्तो अनि कसरी गर्यो भन्दा पनि देशको जनता यस्तो महामारीको चपेटामा परेको बेला सहि समयमा गरेको कार्यले  एनआरएनए प्रतिको आशा जिवितै राखेको मात्र छैन आउने समयको लागि पनि निराश नेपालीले आशा पाउने बाटो बनेको छ।

कति नेपाली त कति सामाजिक अभियन्ताहरु पनि  कोभिड-१९ पोजिटिभ भएर उपचार पछि फर्केर त्यसपछि नेपालको स्थिति देखेर यस अभियानमा जोडिएका छन् ।  साच्चिकै देशमा विपत्ति पर्दा खाडीमा रहेका नेपाली पनि कहाँ चुप लागेर बसेका छन् र ? रेमिट्यान्स मात्र हैन सहयोग पठाउन पछि नपर्ने मध्यपूर्वको नेपाली श्रमिकलाई सरकारले हेर्ने दृष्टिकोण चाही सधै फरक छ । 

अन्तमा, जहाँ जुन अवस्थामा भएपनि हरेक नेपालीहरुले यो महामारी जटिल भएको कारण हरेक समय नेपाल र नेपालीको लागि सहयोग पक्कै गरे होला तर यो स्थितिमा अति आवश्यक र नेपालमा हाहाकार भै रहेको अक्सिजनलाई उपलब्ध गराउने सहयोग गरौं अनि मानवताको निम्ति यो समय कालोबजारी र भ्रष्टाचारबाट हामी सबै टाढा रहौं।  

आकाश शेर्पा(आङ्ग काजी)