हङकङ। नेपाल आदिवासी जनजाति महासंघ हङकङ शाखाको आठौं महाधिवेशनबाट दोस्रो पटक किसन राई अध्यक्षमा निर्वाचित भएका छन् । गत मे २ मा सम्पन्न महाधिवेशन मार्फत किसन राईको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरिएको हो ।
हङकङ स्थित बगैचा रेष्टुरेण्टमा आयोजित महासंघको आठौं महाधिवेशनको बन्दसत्रबाट सबै पदाधिकारीहरु सर्वसम्मत निर्वाचित भएका हुन् । सर्वसम्मत निर्वाचित समितिको उपाध्यक्षमा कृष्णराज लावती, महासचिवमा टोपराज तामाङ र कोषाध्यक्ष करुणा प्रधान निर्वाचित भएका छन् ।
आठौँ महाधिवेशन नेपाली महावाणिज्यदुत उदयबहादुर राना मगरको प्रमुख आतिथ्यता तथा किसन राईको अध्यक्षतामा सम्पन्न भएको थियो ।
उद्घाटन कार्यक्रममा एनआरएनए हङकङकी अध्यक्ष टिका गुरुङ, महासंघका अध्यक्ष टंक राना, चेम्बर्स अफ कमर्शका अध्यक्ष डासुराम पराजुली लगायतको उपस्थिति रहेको थियो।१९९८ मा स्थापित आदिवासी जनजाति महासंघ हङकङमा हाल ११ वटा आदिवासी जनजाति संघसंस्थाहरु आवद्ध रहेका छन् ।