April 21, 2021, Wednesday
२०७८ बैशाख ८
1:37:26 pm

कस्तो समाज हो यो ?

२०७७ फाल्गुन २९

4.5K

म्याड्रिड स्पेन – महिला हिंसा अनि बलात्कार पछि हत्याका घटनाहरु बृद्धि हुदै गएका हरेक दिनको बिभिन्न समाचारहरूले नेपाली समाज भित्र हामी नारी र हामी नारीहरूको अबस्था अझै कति दर्दनाक छन यो छर्लङ्ग छ। कस्तो समाज हो यो? हाम्रो समाज कतातिर जादै छ?

हाम्रो समाजमा सोच र परीबेशमा कहिले परीबरतन आउला? हामीलाई स्वतन्त्र एक्लै हिँडडुल गर्न सुरक्षाको प्रत्याभूति कहिले पाउने? हरेक छेत्रमा समान अबसर र दायित्व बराबर रूपमा कहिले पाउने? आदि जस्ता हजारौं प्रश्न र चुनौती हामी सबैले सामना गर्नुपरेको छ र लडनु परेको छ। हाम्रा साना साना छोरीहरु मात्र होइन, घटनाहरु सुन्दा हजुरआमा, आमाहरु पनि सुरक्षित छैन भन्नु पर्ने अवस्था छ।

हामी ले छोरी भएर जन्मेकै कारण घरबाटै हामीलाई सिकाइन्छ छोरी मान्छेको भाग्य यस्तो हुन्छ, यो काम तिम्रो अनि त्यो काम तिम्रो होइन आदि इत्यादि। असल बुझकी आमाबाबुले जति माया गरेर हुर्काउन पढाउन लेखाउन जब ऊ घर बाहिर पाइला टेक्छे उसले कुदृस्ति, हाम्रो समाज, सोच र ब्यबहारबाट कसरी सुरक्षित रहने उसको प्रयास रहन्छ। उसले चुक्यो कि त उसको द्वन्द्वको कथा सकिन्छ उ सकिन्छ। यस्ता घटनाहरू न्यून पार्न र घटना हुन नदिनको लागी दोषी लाइ कडा भन्दा कडा कार्वाही नै हो र धेरै देशहरूले बुझेर पालन गरीसकेका पनि छन तर हामी धेरै पछाडि परेका छौँ या पारिएका छौँ। जसको प्रमुख कारणहरू मध्य हाम्रो देशको राजनीतिक अस्थिरता र कार्यविधि फितलो हुनु र पूरूषप्रधान मानसिकता, सामाजिक थिचोमिचो नै हो।

दलालहरू को फन्दामा परेर बिदेशमा अलपत्र परेका कैयन् दुखि पीडित दिदीबहिनीहरु, बिचल्लीमा परेका नाबालक बालबालिकाहरूको चित्कार उतिकै बढ्दो छ भने ति चित्कार भित्र भित्रै दबेका र दबाइएका छन भने बाहिर आएका बिषयहरू पनि माथि सम्बन्धित निकायमा सजिलै पुग्दैन। कथंकदाचित पुगिहाल्यो भने पनि उदार र पुनःस्थापना सम्बन्धमा प्रकृया आदिको व्यवस्था निकै जतिल हुने हुँदा समय एकदम धेरै लाग्छ जुन आफैँमा अर्को ठूलो समस्या र चुनौती हो सबैको लागि भने पीडित महिलाहरूको लागि दुर्भाग्य हो एउटा श्राप हो हाम्रो चलनचलतीको भाषामा। निति नियम र कानुन नै चुकेकै कारण यस्तो समस्या बढ्दै गएको छ। संसार कति अगाडि बढि सक्यो हाम्रो देश अनि हामीहरू भने महिलाको हक अधिकारको लागि घर भित्र, देश भित्र र बिदेशमा समेत हिसा र अन्याय बिरूद आवाज उठाउन र लड्नुपर्ने अबस्थामा रहेको छ।

महिला सहभागिता कतिपय ठाउँमा अहिले पनि ५०% गराउन हाम्रो माग अनि बिधान संशोधनको बिषय र आवाज जल्दो बल्दो र बुलन्द छ। बिभिन्न किसिमका हिंसा, अन्याय, मानब (महिला र बालबालिका तस्करी % सबैभन्दा बढी ) तस्करी र श्रम शोषण रोकथाम को लागि महिलाहरूलाई उचित ‌शिक्षा तालिम दिएर आत्मनिर्भर बनाउने, बढी भन्दा बढि महिलामुखि परियोजनाहरू बढाउन सके, यौन र मानसिक शिक्षा, महिला आत्म सुरक्षा तालिम, भाषाको ज्ञान दिने, रोजगारी तथा उच्च शिक्षा र अबसर, बैज्ञानिक प्रबिधिको शिक्षा आदि गाउँ गाउँमा, ठाउँ ठाउँमा पुर्याउन सके, हाम्रो छोरा, दाजु-भाई, मामा भान्जा, फुफा, सासु ससुरा, काका ठूलाबा आदि सबै पूरूष महिला हरूलाई नैतिक शिक्षा दिन सके, दलालहरू को लोभमा फस्न र फसाउन बाट बचाउन सके मात्र यस्तो पीडाहरू धेरै कम हुन्छ।

देशमै आमाको नामबाट नागरीकता लिन पाउने संबिधान हुदाहुदै पनि ब्यबहारमा ल्याउन सकेका छैनौ, अपराधीहरुलाई पावर र पैसाको पहुँचमा बचाउने वा फुस्काउन गलत प्रचलनको कारण महिलाहरू झन बढी पीडामा छन भने अपराधीहरूको मनोबल बढ्दो छ। हामी सहनशिल नारीहरूको घर घर, परिवार परिवार, समाज समाज, देश बिदेश, भित्र बाहिर, यत्रतत्र सबैतिर चाहे राजदरबार चाहे महल या झुपडी, चाहे खानदानी या मध्यम बर्ग या गरिब, पढेलेखेको शिक्षित या अशिक्षित अन्याय ज्यादति धेरै थियो र छ। चुप लागेर बस्नु भनेको यस्ता घटनाहरूलाई बढावा दिनु हो। जसले आवाज उठाउन सक्यो र लड्यो उ बाँच्यो नत्र महिलाहरू ले आत्महत्या गर्ने अवस्थासम्म पुग्नुपरेको छ।

“जातभात, दाइजो, मानसिक र शारीरिक हिंसामा कैयों नेपाली महिलाहरू ले त पारिवारिक, सामाजिक थिचोमिचो असह्य पीडा झेलेर अति भएपछि आत्महत्या गरेका छन्, मानसिक सन्तुलन गुमाइसकेका छन् र हत्याका घटना हरू बढ्दो छ। उचित सहयोग र न्यायको अभावमा महिला मात्र दोषी देख्ने परीपाटि छ। पाले पुन्य मारे पाप भन्दै छोरीलाई अरूको जिम्मा लगाइदिने हाम्रो चलनमै आमुल परीबरतन ल्याउन जरुरी छ।” यो समस्या हामी सबैको हो मनन गर्द उचित कदमको पाइला चालिनु पर्छ। १११ नारी दिवसको अवसरमा देश तथा बिदेशमा रहनुहुने सम्पूर्ण दिदीबहिनिहरुलाइ स्वाबलम्बि र आत्मबिश्वासका साथ अगाडी बढ्ने प्रेरणा मिलोस हार्दिक शुभकामना ब्यक्त गर्दै कार्यक्रमहरू सञ्चालन हुँदा गर्दा, सामाजिक सञ्जाल रगिदै गर्दा भने कैयन् अर्कोतिर महिला हिंसा आत्महत्या रोकेको थिएन।

“नारीहरुको स्वतन्त्रता र समान अधिकारका लागि बहस र समाधानका बारेमा छलफल र आवाज उठाउने गरौँ, कार्यक्रम गरौँ, बैठक गरौं, कुराकानी गरौँ, कानुनी सल्लाह लिऔ दिउँ जताततै कडाइका साथ सुनुवाइ होस र कानु, बिधान, संविधान र निति नियम लागू होस तर ब्यबहारमा” । जय नारी।