September 21, 2021, Tuesday
२०७८ आश्विन ६
1:37:26 pm

मलेसियामा कार्यरत नेपालीले सामाजिक सुरक्षा सुविधा तथा क्षतिपूर्ति नेपालबाटै पाउने 

1.2K

काठमाडौँ – मलेशियामा काम गरिरहेका श्रमिकहरूले पाउने सामाजिक सुरक्षा बापतको सुविधा तथा क्षतिपूर्ति नेपाल ल्याउन पाउने बारेको समझदारीपत्रमा छिट्टै हस्ताक्षर हुने वैदेशिक रोजगार बोर्डका अधिकारीहरूले बताएका छन्।केही दिनमै समझदारीपत्र मलेशिया पठाइने र मलेशियाको सामाजिक सुरक्षा संस्था सोक्सोले त्यसमा मन्जुरी दिएलगत्तै कार्यान्वयनमा आउने उनीहरूको भनाइ छ।

हालसम्म वैधानिक रूपमा मलेशियामा रहेका झन्डै तीन लाख नेपाली कामदार सोक्सोमा आबद्ध रहेको मलेशियास्थित नेपाली दूतावासका अधिकारीहरूले जनाएका छन्।मलेशिया सरकारले आप्रवासी कामदारलाई पनि सामाजिक सुरक्षा दिनेगरी कानुन बनाएको एक वर्षभन्दा बढी भइसकेको छ।

Advertisement

तर उक्त सामाजिक सुरक्षाअन्तर्गत दर्ता भएका नेपाली कामदारले पाउने सुविधा र क्षतिपूर्ति नेपालमा उनीहरूको परिवारसम्म पुर्‍याउने माध्यमको टुङ्गो लाग्न सकेको थिएन।
हालै मन्त्रिपरिषद्ले मलेशियाको सामाजिक सुरक्षा संस्था सोक्सोसँग समझदारी गर्ने अधिकार वैदेशिक रोजगार बोर्डलाई दिएको छ।

नेपालबाट वैधानिक रूपले गएका कामदारहरूले नेपालका तर्फबाट पाउने सुविधा र क्षतिपूर्ति पनि वैदेशिक रोजगार बोर्डमार्फत् नै पाउने गरेका छन्।मलेशियास्थित नेपाली दूतावासका अधिकारीहरूले नेपालबाट पठाइने समझदारीपत्रको पर्खाइमा रहेको जनाएका छन्।धेरैजसो नेपाली कामदार मलेसियाको सामाजिक सुरक्षा कार्यक्रममा आबद्ध भइसकेको दूतावासका श्रम मामिला हेर्ने काउन्सिलर दीपक ढकालको भनाइ छ।