काठमाडौं- खानेपानी मन्त्री मणिचन्द्र थापाले ‘श्री ५ को सरकार’ भनेकोमा माफी मागेका छन्। उनले भूलवश यो शब्द प्रयोग हुन गएको भन्दै आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत् माफी मागेका हुन्।
शनिबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित नेकपाको ओली पक्षको भेलालाई सम्बोधन गर्ने क्रममा मन्त्री थापाले ‘श्री ५ को सरकारको तर्फबाट..’ भनेका थिए। मन्त्री थापाले नेपाल सरकार भन्नु पर्नेमा अन्यथा भएको भन्दै माफी मागेका छन्।
‘जो यहाँ आशिन हुनुहुन्छ, सुर्खेतका आदरणीय जनसमुदायहरू म सबैलाई नेकपा स्थायी समितिको तर्फबाट र श्री ५ को सरकारको तर्फबाट यो कार्यक्रममा..’ भनेका थिए। लगत्तै कार्यक्रम सञ्चालकले गल्ती बोलेको संकेत गरेपछि उनले ‘ए, सरी नेपाल सरकारको तर्फबाट म तपाईंहरूलाई स्वागत गर्न चाहान्छु’ भनेका थिए।
मन्त्री थापाको यो भनाइको चौतर्फी आलोचना भइरहेको छ। गणतान्त्रिक सरकारका मन्त्रीले यस्तो अभिव्यक्ति दिएको भन्दै उनको चर्को आलोचना भइरहेको छ।