काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संसदीय छानबिन समिति नबनेसम्म संसदको काम कारबाही अगाडि नबढ्ने बताएका छन् ।
आजको प्रतिनिधिसभाको बैठक सुरु भए लगत्तै नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टीका सांसद उठेर विरोध जनाएका थिए । त्यसपछि सभामुख देवराज घिमिरेले नेपाली कांग्रेसका महामन्त्री थापालाई भनाइ राख्न समय दिए ।
उक्त समयमा बोल्ने क्रममा थापाले संसदीय छानबिन समिति नबनेसम्म सदनको कुनैपनि कारबाही अगाडि बढाउने कुरामा कांग्रेसको साथ नरहने बताए।
महामन्त्री थापाले भने, ‘सहकारीको रकम हिनामिना प्रकरणमा संसदीय छानबिन समिति गठन नभएसम्म सदनका कुनै पनि काम कारबाहीमा कांग्रेसको साथ रहँदैन । यसको जिम्मेवार कांग्रेस होइन, सत्तापक्ष हो ।’
महामन्त्री थापाविरुद्ध उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने विरुद्ध आक्रोशित भएका छन् । प्रतिनिधिसभाको बैठकमा कांग्रेसको अवरोधपछि संसद् भवनबाट बाहिरिनेक्रममा गृहमन्त्री लामिछानेले भने,’संसदीय छानबिन समितिको त कुरा भएन । हस्ताक्षर गरेर ऋण मागेको कागज छ भने प्रमाण देखाउनुहोस् । मेरो चुनौती भयो। कुनै ऋण मागेको प्रमाण दिनुभयो भने म राजनीति छोड्दिन्छु । दिन सक्नुभएन भने उहाँले छोड्न तयार हुनुपर्छ ।’
प्रतिनिधिसभाको बैठकमा थापाले ऋण मागेको प्रमाण आफूसँग सुरक्षित रहेको बताएका थिए ।