काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी प्रकरणमा उजुरी पर्दैमा आफूले पदबाट राजीनामा नदिने बताएका छन् । भ्रष्टाचारको उजुरी पर्दैमा राजीनामा दिने हो भने त्यसमा सहमति गरेर अघि बढ्न कांग्रेस तयार हुनुपर्ने उनले बताए।
कांग्रेसले सहकारी ठगी प्रकरणमा मुछिएकाले छानबिनका लागि संसदीय समिति बन्नुपर्ने भन्दै संसद् बैठक अवरुद्ध पारिरहेका बेला उनले उजुरी पर्दैमा छानबिन गर्ने कुरा संसदीय मूल्य, मान्यताभित्र नपर्ने बताएका हुन् ।
कांग्रेसले संसदीय मर्यादाको ख्याल गर्नुपर्ने भन्दै गृहमन्त्री लामिछनेले भने, ‘कसैले गरेको ठाडो उजुरीको आधारमा, सूचना दिएको आधारमा समिति बनाउनुपर्ने गरी हाम्रो संसदीय मर्यादा त्यति तल झरिसकेको छ र ? यो संसद्को पनि गरिमा छ, यसको महत्व छ, यसको बेग्लै पहिचान छ, यसको इतिहास छ, यसको गौरव छ । यसको गौरवको रक्षा गर्नका लागि दोबाटोमा उठेका हरेक कुराहरूको समिति बनाउने हो भने हुन्छ गरौं । हामीले त भनेका छौं नि प्रश्न उठने बित्तिकै, कसैले ठाडो जाहेरी, सूचना, निवेदन दिने बित्तिकै तुरुन्तै सांसदले राजीनामा दिउँ, मन्त्रीले राजीनामा दिउँ, संसदीय समिति बनाउ । हामीले हुन्छ भनिसक्यौं, नाइँ भनेका छैनौं ।’
कांग्रेसले सहकारीको समस्या भन्दा पनि व्यक्तिकेन्द्रित भएर संसद् अवरुद्ध गरिरहेको लामिछानेको भनाइ थियो । उनले भने, ‘तर, व्यक्तिमा मात्रै केन्द्रित रहने हो भने हामी आएर बनेको हो र ? प्रहरीको अनुसन्धान उहाँहरु सरकारमा भएको बेला भएको होइन र ? त्यो अनुसन्धान गर्ने अधिकारीहरू त्यहीँ हुनुहुन्न होला र ? एउटै कुरा सय चोटी भन्दैमा त्यो सय वटा कुरा होइन, एउटै कुरा हो । त्यसकारण यो संसद्को गरिमा छ । आरोप लाग्यो कि राजीनामा दिने सर्वदलीय सहमति गरौं ।’