November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

इलाम क्षेत्र नम्बर २ मा पहिचान पक्षधरको साझा उम्मेदवार डकेन्द्रसिंह थेगिम

2K

विराटनगर । इलाम क्षेत्र नम्बर २ को प्रतिनिधिसभा उपनिर्वाचनका लागि पहिचान पक्षधरको साझा उम्मेदवारको रुपमा डकेन्द्रसिंह थेगिम लिम्बुलाई अगाडि सारिएको छ । विहीबार प्रदेश नम्बर एक पुनः नामकरण संयुक्त संघर्ष समितिले काठमाडौंमा बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी साझा उम्मेदवारका रुपमा लिम्बूलाई अगाडि सार्ने घोषणा गरेको हो।

संघर्ष समितिमा किरात याक्थुङ चुम्लुङ र किरात राई यायोक्खासहितका ४१ वटा घटक सहभागी छन् । उनीहरुले साझा उम्मेदवारका रुपमा अगाडि सारेका थेगिम संघर्ष समितिका अध्यक्ष पनि हुन् ।

निर्णय पछि एक विज्ञप्ति जारी गर्दै समितिले भनेको छ, ‘उपनिर्वाचनलाई आन्दोलनकै रूपमा उपयोग गर्ने गरी डकेन्द्रसिंह थेगिम लिम्बूलाई साझा उम्मेदवार बनाउने निर्णय गरिएको छ ।’

Advertisement

पहिचानको आन्दोलन जारी रहेको भन्दै आगामी बैशाख २ गते हुन गइहेको इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनलाई आफूहरूले प्रयोगका रुपमा लिएको समितिले बताएको छ ।

निर्वाचनका लागि चैत २४ गते उम्मेदवारी दर्ता गर्ने गरी निर्वाचन आयोगले चुनावी तालिका सार्वजनिक गरिसकेको छ । गत निर्वाचनमा निर्वाचित नेकपा एमालेका तर्फबाट चुनाव जितेका उम्मेदवार सुवाषचन्द्र नेम्वाङको निधन भएपछि रिक्त इलाम २ मा उपनिर्वाचन हुन लागेको हो ।

प्रदेश १ लाई ‘कोशी प्रदेश’ नामकरण गरिएपछि पहिचानको आधारमा पुन: नामकरण गरिनुपर्ने माग राख्दै ‘प्रदेश नम्बर एक पुनः नामकरण संयुक्त संघर्ष समिति’ गठन भएको थियो । उक्त समितिको नेतृत्वमा कोशी प्रदेश नामकरणविरुद्ध आन्दोल गरेको थियो । आन्दोलनमा एकजना सहिद भइसकेका छन् भने सयौं घाइते भएका थिए।

पहिचानलाई नामेट पार्न कोसिस गरिएको भन्दै त्यसका विरुद्ध पहिचानको पक्षमा आफ्नो उम्मेदवारी रहेको थेगिमको भनाइ छ। थेगिमले भने, ‘पहिचानको एउटा मुद्दा उठिराखेको छ,पहिचानको संघर्ष भइरहेको छ । कोशी नाम राखेर त्यस भुगोलमा, त्यस क्षेत्रमा बसोबास गर्ने आम आदिवासी जनसमुदायको पहिचानको अस्तित्वलाई नामेट गर्ने काम भएको छ । त्यो कोशी नाम खारेजी गर्दै पहिचानको आधारमा ऐतिहासिक पृष्ठभुमि र सभ्यताको आधारमा सबै भाषधर्म, संस्कृतिको संरक्षण गर्दै मुख्य भूमिका निर्वाह गर्ने पक्षमा म लाग्ने छु ।’