काठमाडौं । माओवादी केन्द्रका सांसद माधव सापकोटाले वर्तमान संविधान र व्यवस्थाको विकल्प राजा र राजतन्त्रवादी हुन नसक्ने बताए । प्रतिनिधिसभाको आइतबारको बैठकमा उनले यस्तो बताएका हुन् ।
उनले संविधान र व्यवस्थाका बारेमा संसद्मा हुने बहसबारे सभामुख देवराज घिमिरेले ध्यानाकर्षण गर्नुपर्ने बताए । संविधानअनुसार संघमा मन्त्री र प्रदेशमा सभामुख लिने फेरि संविधान र व्यवस्थाको विरोध गर्ने भनेर राप्रपाप्रति लक्षित गर्दै सांसद सापकोटाल भने, ‘यो संसद्मा यो संविधानका विरुद्धमा बेला बखतमा जसरी विरोध गरिराखिएको छ, हमला गरिराखिएको छ, यसलाई जसरी ध्वंश गर्न खोजिराखिएको छ, यसका बारेमा सचेत तुल्याइनुपर्छ । यै संविधानले दिएको लोगो र यसले परिकल्पना गरेको चुनावमा भाग लिएर सांसद हुने, लोगो लगाएर सारा सेवा, सुविधा भोग गर्ने, पाइहाले मन्त्री पनि पड्काउने, प्रदेशतिर गएर सभामुख पनि लिने तर फेरि यो संविधानलाई विरोध गर्ने? यो संविधान र योव्यवस्थाको विकल्प किमार्थ राजा र राजतन्त्रवादी हुन सक्दैनन् । यो व्यवस्थाको विकल्प यो भन्दा उन्नत प्रकरको व्यवस्थाको बारेमा छलफल र बहस गर्न सकिन्छ भनेर यो संविधानले भन्छ । व्यवस्थाका बारेमा यो संसद्भित्र जे बहस हुने गरेको छ यसका बारेमा ध्यानाकर्षण गराउन चाहन्छु ।’
सांसद सापकोटाले संविधानका सीमा र कमजोरी बारे बहस गर्ने छुट भएपनि संविधान र व्यवस्थाकै विरुद्ध दिइने अभिव्यक्तिबारे सभामुखले ध्यानाकर्षण गर्नुपर्ने माग गरे ।