February 7, 2025, Friday
२०८१ माघ २५
1:37:26 pm

जनसम्पर्क समिति बेलायतले गुमायो पाँचजना कांग्रेस महासमिति सदस्यहरू

4.8K

काठमाडौं । आजबाट सुरु हुन गइरहेको नेपाली कांग्रेस महासमितिको बैठकमा बेलायतबाट युवराज गुरुङको मात्र नाम समावेश गर्न पार्टीले निर्देशन दिएपछि बैठकमा भाग लिन गएका बेलायतका कांग्रेसीहरू अलमल्लमा परेका छन् ।

२ हजार जना सक्रिय सदस्यहरू रहेको बेलायत कांग्रेसबाट सभापति लगायत ६ जना महासमिति सदस्यहरु हुन्छन् । तर, पार्टीका संस्थापनइतरका सदस्यहरुले आफू पनि महासमितिको सदस्य भएको दावी गर्दै बैठकमा सहभागी हुन खोजेपछि नेपाली कांग्रेसको लागि जनसम्पर्क समिति बेलायत अहिले टाउको दुखाई बनेको छ ।

आजदेखि सुरु हुने नेपाली कांग्रेस महासमिति बैठकमा सहभागी हुने प्रतिनिधिको विषयमा जनसम्पर्क समिति वेलायतमा विवाद देखिएको छ । समितिको कार्यसमितिले तोकेका ६ जना प्रतिनिधि बाहेक अन्यको नाम महासमितिको लागि नाम दर्ता भएको भेटिएपछि सभापति युवराज गुरुङले आपत्ति जनाएका छन् ।

Advertisement

वेलायत जनसम्पर्क समितिमा विवाद देखिएपछि पार्टी सभापति शेरबहादुर देउवाले समितिका सभापति गुरुङको एक मात्र नाम दर्ता गर्न निर्देशन दिएका हुन् । विभिन्न देशका नेपाली जनसम्पर्क समितिबाट ८९ जनाले सो महासमिति बैठकमा भाग लिदैछन् ।

यसअघि प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले महासमिति बैठक तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए । ललितपुरको गोदावरीस्थित सनराइज हलमा महासमिति बैठक फागुन १० गतेसम्म चल्नेछ ।

महासमितिमा सहभागी भएका सदस्यमध्ये कम्तीमा ६० प्रतिशतलाई बोल्न समय दिइने विश्वकर्माको भनाइ छ ।

बैठकमा उपसभापति पूर्णबहादुर खड्काले नीति, महामन्त्री गगन थापाले सांगठनिक, अर्का महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीतिक, प्रवक्तासमेत रहेका अर्थमन्त्री प्रकाशशरण महतले नेपालको वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी दिशा तथा लेखा समिति संयोजक श्यामकुमार घिमिरेले लेखा परीक्षण प्रतिवेदन पेश गर्नेछन्। । महासमिति बैठकले कांग्रेसले लिने नीति तय गर्नेछ ।

महासमिति बैठकमा वर्तमान पदाधिकारी तथा केन्द्रीय सदस्यहरू १६५ जना, प्रतिनिधि सभा क्षेत्रबाट प्रतिनिधित्व हुने गरी महासमिति सदस्यहरू १ हजार सात सय ८० जना, भ्रातृ तथा शुभेच्छुक संस्थाबाट ६९ जना, महासमिति सदस्य नरहेका जिल्ला सभापति ४६ जना सहभागी हुने विश्वकर्माले जानकारी दिए ।