काठमाडौं । आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले नेपालका उद्योगबाट विदेशी कामदारहरुलाई हटाउनुपर्ने माग गरेका छन् ।
शनिबरा काठमाडौंमा आयोजित पार्टीनिकट आम ट्रेड युनियन फेडरेशनको प्रथम ऐतिहासिक राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले सरकारले आफ्ना दक्ष युवा जनशक्तिलाई विदेशमा बेचिरहेको भन्दै नेपालका उद्योगमा विदेशी कामदारलाई हटाएर स्वदेशी कामदारलाई रोजगारमा स्थापित गर्न माग गरेका हुन् ।
नेपालबाट लाखौंको संख्यामा युवाहरु श्रम बेच्न विदेशी भूमिमा जानुपर्ने बाध्यता अहिलेको लुटकारी दलतन्त्रले गराएको भन्दै उनले यसको अन्त्य अपरिहार्य आवश्यकत्ता भएको बताए । देशको राजनीति ठूला भनिने दलका मुठ्ठीभर नेताको कब्जामा परेको हुँदा आज देशको अवस्था दिनप्रतिदिन बिग्रिँदै गएको उनको भनाइ थियो ।
उनले देश अहिले संकटको डिलमा पुगिसकेको भन्दै अहिलेको दलतन्त्रको विकल्प दिनको लागि आफूहरु राजनीतिक मैदानमा खडा भएको उद्घोष गरे ।