April 18, 2025, Friday
२०८२ बैशाख ५
1:37:26 pm

लोकतन्त्रको सबल पक्ष समानता- देउवा

985

काठमाडौं। नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक पद्धतिमा मात्र व्यक्तिको वैयक्तिक स्वतन्त्रता र स्वाभिमानको रक्षा हुने उल्लेख गरेका छन्।

सहिद दिवसका अवसरमा सन्देश जारी गर्दै देउवाले भने,
“लोकतन्त्रको एउटा सबल पक्ष समानता हो । समान हक, समान अवसर र समान न्याय, सुदृढ र सबल लोकतन्त्रबाट मात्रै नेपाल एक सुन्दर, शान्त, समुन्नत र समतामूलक राष्ट्रमा परिणत हुनेछ भन्ने परिकल्पना र विश्वासमा देशभक्त वीर सपुतहरूले आफूलाई सहर्ष उत्सर्ग गरेका थिए ।”

सभापति देउवाले शहीद दिवसका अवसरमा देश र लोकतन्त्रको हित रक्षाका निमित्त आफ्ना सानातिना मतभेदलाई बिर्सेर शहीदको सपनालाई विपनामा रुपान्तर गर्ने सङ्कल्प गर्नका लागि आग्रह गरेका छन् ।

Advertisement

प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहुति दिने शहीदको सम्झनामा प्रत्येक वर्ष माघ १६ गते विविध कार्यक्रम गरी सहिद दिवस मनाउने गरिएको छ ।

मुलुकमा इतिहासका विभिन्न काल खण्डमा निरङ्कुश र तानाशाही शासन व्यवस्थाविरुद्ध भएका क्रान्ति तथा लोकतान्त्रिक जनआन्दोलनमा आफ्नो जीवन बलिदान दिने सहिदको सङ्ख्या १४ हजारभन्दा बढी छ । गृह मन्त्रालयका अनुसार मन्त्रीपरिषद्ले सहिदको सूचीमा १४ हजार ६८० जनाको नाम निर्णय गरेको छ । तीमध्ये ११ हजार ४१९ जनाको नाम राजपत्रमा छापिइसकेको छ भने तीन हजार २६१ जनाको नाम प्रकाशित हुन बाँकी रहेको मन्त्रालयले जनाएको छ ।