October 4, 2024, Friday
२०८१ आश्विन १८
1:37:26 pm

रवि लामिछानेमाथि छानबिन गर्न माग गर्दै नेविसंघको प्रदर्शन

990

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि छानबिन गर्न माग गर्दै सत्तारुढ दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले प्रदर्शन गरेको छ । सहकारीको रकम अपचलनको आरोप लागेका लामिछानेमाथि छानबिन गर्नुपर्ने माग राख्दै नेविसंघले सहकारी विभागमा प्रदर्शन गरेको हो ।

नेविसंघको केन्द्रीय समितिले पूर्व गृहमन्त्रीसमेत रहेका लामिछानेमाथि छानबिन गरी कारबाहीको प्रक्रिया अघि बढाउन माग गर्दै आज सहकारी विभागका रजिष्ट्रार पिताम्बर घिमिरेलाई ज्ञापनपत्र बुझाएको छ ।

सुप्रिम सहकारी, सूर्यदर्शन सहकारी, सहारा सहकारीको रकम रविले आफू संलग्न भएको गोरखा मिडिया नेटवर्कको खातामा ट्रान्सफर गरेको समाचार विभिन्न सञ्चारमाध्यमबाट सार्वजनिक भएको उल्लेख गर्दै समितिले तुरुन्त अनुसन्धान अघि बढाउन विभागको ध्यानाकर्षण गराएको छ ।

Advertisement

ज्ञापनपत्रमा भनिएको छ, ‘उक्त सहकारीहरुमार्फत भएको ठगी प्रकरण सम्बन्धमा अनुसन्धान कार्य अगाडि बढाई सत्यतथ्य नआउँदा ठगीको घटना बढ्दै जाने अवस्था हुँदा दोषीलाई कारबाहीमा ल्याउन सहकारी विभागको महत्वपूर्ण भूमिका रहने हुँदा यथार्थता बाहिर ल्याउन तथा दोषी भाग्न नपाउने भनि जोडदार माग गर्दछौं ।’

ज्ञापनपत्र बुझाउन नेविसंघका केन्द्रीय सदस्य आदर्श मल्लको नेतृत्वमा अनुराग शाह, ललितपुर जिल्ला अध्यक्ष सरोज खोरासैनीलगायत एक दर्जनको टोली विभाग पुगेको थियो ।