काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संयुक्त राष्ट्रसंघको महासभामा यसपटक देखिने गरि नेपालको प्रतिनिधित्व भएको बताएका छन् । आइतबार प्रतिनिधिसभाको बैठकलाई चीन भ्रमण र राष्ट्रसंघीय महासभामा सहभागिताको बारेमा जानकारी गराउँदै प्रधानमन्त्री दाहालले यसपटक महासभाको सहभागिता देखिने र सुनिने गरि भएको बताएका हुन् ।
महासभामा जलवायु परिवर्तनको असर, अल्पविकसित देशहरुको समस्या र शान्ति प्रक्रियाका बाँकी कामहरुको बारेमा राष्ट्र संघ तथा अन्तर्राष्ट्रिय क्षेत्रमा आफ्नो धारणा राखेको प्रधानमन्त्रीले बताए । उनले भने, ‘नेपालको शान्ति प्रक्रियालाई निष्कर्षमा पु¥याउन राष्ट्रसंघ र संसारको सद्भाव प्राप्त गर्नका लागि र नेपालमा द्वन्द्वबाट शान्तिमा रुपान्तरणको सफल उदाहरणलाई अन्तर्राष्ट्रिय समुदायले उचित मान्यता दिनुपर्ने, दिगो विकासको लक्ष्यहरु कार्यान्वयन र जलवायु परिवर्तनको प्रभावहरुबारे नेपाल लगायत अतिकम विकसित देशहरुको लागि विश्व समुदायको ध्यानाकर्षण गर्ने विषयमा नेपाल देखिने गरि प्रस्तुत हुन सफल भएको छ ।’
प्रधानमन्त्री प्रचण्डले अमेरिकाको न्यूयोर्कमा महासभामा सहभागितापछि चीनको भ्रमण गरेका थिए । उनले विद्युतीय प्रसारण लाइनसहित सडक निर्माण र स्तरोन्नतिको विषयमा सहमति भएको बताए । उनले भने, ‘२०१९को राष्ट्रपति सीको भ्रमणपछि चीनतर्फ भएको उच्चस्तरीय भ्रमण हो । आपसी विश्वासको वातावरणलाई सुदृढ गर्दै र दुवै देशबीच रहेको आर्थिक सम्बन्धलाई मजबुत बनाउने काम भएको छ ।’