December 10, 2023, Sunday
२०८० मंसिर २४
1:37:26 pm

संविधान कार्यान्वयनमा दलाल पुँजीवाद मुख्य कारक: माधव नेपाल

840

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले दलाल नोकरशाही पुँजीवादका कारण संविधान कार्यान्वयनमा समस्या भएको बताए ।
बुधवार नेपाल रिटर्नी एशोसिएसनको प्रथम राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले दलाल नोकरशाही पुँजीवादले नेपालको राजनीति र अर्थतन्त्रलाई कब्जामा लिएका कारण संविधान कार्यान्वयनमा समस्या भएको बताएका हुन् ।

उनले शोषणको नयाँ- नयाँ रूपहरूलाई अन्त्य गर्दै राष्ट्रिय पुँजी विकासको वातावरण तयार नगरेसम्म संविधानमा लेखिएको कुरा व्यवहारमा लागू गर्न नसक्ने भन्दै  संविधानले सबै प्रकारका अधिकारहरू दिएको भएपनि त्यसको कार्यान्वयनमा भने चुनौती रहेको बताए।

‘संविधानमा जुन किसिमका परिकल्पनाहरू गरिएका छन् । नेपालमा समाजवाद स्थापनाको एउटा परिकल्पना । नेपालमा न्यायको, समानताको, विकासको र समृद्धिको जुन एउटा सोच अगाडि सारिएको छ । विचार अगाडि सारिएको छ । र समाजमा भएका सबै भेदभावहरूलाई, अन्याय, अत्याचार, थिचोमिचोहरूलाई, पछौटेपनलाई, गरिबीलाई, यी सबैलाई अन्त्य गर्ने सङ्कल्प आजको दिनमा गर्नुपर्ने आवश्यकता छ । संविधानको पानालाई पल्टाएर हेयो भने संविधानले भन्न छुटेका कुरा सम्भवतः केही छैन होला । तर चुनौती के छ भने संविधानमा लेखिएको प्रावधानलाई व्यवहारमा लागू गर्ने कसरी ? नेपाली विशेषताको समाजवादलाई व्यवहारमा लागू गर्ने कसरी ? यसअर्थमा नेपाली विशेषताको समाजवादको बारेमा विषयवस्तुको अभाव देखिँदैन । समस्याको पहिलो कारण अहिले पनि दलाल नोकरशाही पुँजीवादले जसरी नेपालको राजनीति र अर्थतन्त्रलाई पूरै आफ्नो कब्जामा लिएको छ । त्यसबाट सबभन्दा पहिले मुक्त गर्नु आवश्यक छ’, उनले भने ।

Advertisement

नेपालले देशव्यापी रुपमा रहेका नेपालीहरुका समस्या र  बेरोजगारीलाई हटाउन संविधानले नै नीतिगत व्यवस्था गरेपनि व्यवहारतः कार्यान्वयन नभएको बताए । संविधान दिवसको शुभकामनासहित  संविधान निर्माण गर्ने  ति योद्धाहरुलाई सम्मान व्यक्त गरेका थिए ।

कार्यक्रममा पार्टीका उपाध्यक्षहरु  प्रमेश हमाल,  जयन्ति राई पार्टीका सल्लाहकार परिषद सदस्य तथा पूर्व राजदुत कमल कोइराला, आइसीटीयुका , विष्णु लम्साल, पार्टीका नेताहरु श्री प्रसाद शाह पासाङ शेर्पा, वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक द्वारीका उप्रेती लगायतले    शुभकामना मन्तव्य राखेका थिए ।

भेलामा २०७९ सालका सर्लाही क्षेत्र नं १ का स्वतन्त्र उमेदवार श्री प्रसाद साह सहित २० जना बढीको टोली एकीकृत समाजवादीमा प्रवेश गरेका थिए ।

भेलाले  प्रविण पौडेलको अध्यक्षतामा एक सय एक सदस्यीय नेपाल रिटर्नी एशोसिएशन ( समाजवादी ) गठन गरेको छ ।

नेपाल रिटर्न एशोसिएशनको राष्ट्रिय भेला पश्चात बसेको पहिलो बैठकले केन्द्रिय सदस्य सोसल पण्डितलाई प्रदेश २ को इन्चार्जको जिम्मा दिएको छ ।