December 10, 2023, Sunday
२०८० मंसिर २४
1:37:26 pm

माओवादीसँग डराएर जारी गरिएको संविधान उत्कृष्ट मान्न सकिँदैन :पूर्वसभामुख ढुंगाना

825

काठमाडौं । पूर्व सभामुख दमननाथ ढुंगानाले नेपालको संविधान तत्कालीन विद्रोही पक्ष माओवादी केन्द्रसँग डराएर उनीहरुको चित्त बुभलाउनकै लागि जारी गरिएको भन्दै यसलाई विश्वकै उत्कृष्ट मान्न नसकिने अभिव्यक्ति दिएका छन । नेपाली कांग्रेसले गरिरहेको बिपी साहित्य महोत्सवको समापन कार्यक्रममा बोल्दै ढुंगानाले उक्त संविधानलाई उत्कृष्ट भन्न नमिल्ने बताएका हुन् ।

‘बीपीको विचार, आजको संविधान र अबको बाटो’ विषयक कार्यक्रममा बोल्दै ढुंगानाले भने, ‘यो संविधानमा बीपी तत्व छँदै छैन । म संविधान दुर्घटनामा जाओस् भन्ने पक्षमा छैन । तर, एकेडेमिक बहसमा यो संविधान उत्कृष्ट भन्न सक्दिनँ । यो माओवादीसँग डराएर उनीहरूको चित्त बुझाउनका लागि बनाएको संविधान हो ।’

बीपीले उबेलैमा संविधानसभाबाट संविधान जारी गर्नुपर्छ भन्ने गरेको बताए । ‘किनभने उहाँ संविधानको ज्ञाता पनि हनुहुन्थ्यो । २००७ साल देखि २०३९ सालसम्मको अवधि संविधानकै सेरोफेरोमा घुमेको देखिन्छ । २००७ सालमा बनेको भए कस्तो बन्थ्यो होला भनेर बहस हुन सक्छ । त्यसबेला भएको भए बीपी नेतृत्वको क्रान्तिको जगमा संविधान बन्थ्यो भने अहिले माओवादीको सशस्त्र कान्तिको जगमा बनेको हो ।’, उनले भने ।

Advertisement

तर कांग्रेस महामन्त्री गगन थापाले भने ढुंगानाको अभिव्यक्तिको भनाइको प्रतिवाद गरेका छन् । दर्शकदीर्घामा बसेर सुनिरहेका महामन्त्री थापाले आफू पहिलो र दोस्रो दुबै संविधानसभामा रहेको भन्दै पहिलो संविधानसभाको घटना सुनाए । ‘त्यो बेलामा माओवादीको प्रस्ताव के थियो भने व्यक्तिले सम्पत्ति कति राख्न पाइन्छ भन्ने कुराको सीमा राख्नुपर्छ । अदालतको न्यायाधीश, स्वतन्त्र न्यायपालिका होइन दलले तोक्नुपर्छ भन्ने थियो’, थापाले भने ।

उनले अगाडि भने, ‘यो सबै कुरा लड्दा–लड्दा, जुध्दा–जुध्दा अन्तिममा संविधान नबने बन्दैन तर नेपाली कांग्रेसले आफ्नो फन्डामेन्टल कुरासँग कम्प्रमाइज गर्दैन भनेर पहिलो संविधानसभामा अडिएर बसेको हो । त्यसैले तिमीहरु लडेनौं भन्ने कुरालाई यहाँ बसेर टुलुटुलु स्वीकार्न सकिएन ।’

महामन्त्री थापाले दल र नेताहरुको अक्षमताको भारी संविधानलाई बोकाउन नहुने बताए । ‘बीपी कोइरालाले के भन्नुभएको रहेछ भने संविधानको जीवन्तता शासकको मनोवृत्तिमा निर्भर रहन्छ त्यसैले संविधान बनाएर काम गर्न नसकेको भारी संविधानलाई पनि नबोकाऔं, बीपी कोइरालालाई पनि नबोकाऔं’, उनले भने ।