काठमाडौं। नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय समिति बैठक सुरु भएको छ । मङ्गलबारदेखि सुरु भएको बैठक बाँकी छलफलका लागि आज पुनः बसेको हो ।
बैठकमा आजदेखि केन्द्रीय सदस्यले आ–आफ्नो धारणा राख्ने छन् ।
बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले आफ्नो प्रतिवेदन पेस गर्दै एमालेसँग विद्रोह गर्नुको औचित्य, अन्तर्राष्ट्रिय परिस्थिति, भू–राजनीतिक परिस्थिति, आजको राजनीतिक परिस्थिति, नेपाली समाजको विशिष्ट अवस्थालगायतबारे चर्चा गरेका थिए ।
उक्त प्रतिवेदनमा अध्यक्ष नेपालले विभिन्न कारणले आफ्नो पार्टी एमालेभन्दा फरक रहेको उल्लेख गरे । मुलुकमा पुँजीवादी क्रान्तिको अन्त्य गर्न जनताको बहुदलीय जनवादको सान्दर्भिकता रहेकाले सो विचार छाड्न नसक्ने प्रतिवेदनमा उल्लेख छ ।
भदौ ७ गतेसम्म चल्ने सो बैठकले महाधिवेशनको मिति र स्थान तय गर्ने बताइएको छ ।