September 25, 2023, Monday
२०८० आश्विन ८
1:37:26 pm

तत्काल राजनीतिक परिस्थिति र सत्ता गठबन्धन बदलिदैनः माधव नेपाल

685

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले तत्काल राजनीतिक परिस्थिति र सत्ता गठबन्धन नबदलिने बताएका छन् । पार्टीको जारी छैटौँ केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदन पेस गर्दै उनले वर्तमान गठबन्धन दीर्घकालीन नभए पनि तत्कालीन राजनीतिक कार्यगत एकता भएको बताएका हुन् ।

प्रतिवेदन पेस गर्दै उनले भने, ‘यो गठबन्धन दीर्घकालीन होइन तात्कालिक राजनीतिक एकतामात्र हो । त्यसैले तत्कालीन राजनीतिक परिस्थिति बदलियो भने यस्तो गठबन्धन पनि बदलिन सक्छ । तर अहिले तत्काल वर्तमान राजनीतिक परिस्थिति र गठबन्धन बदलिन र हामी गठबन्धनबाट बाहिर निस्कने अवस्था छैन ।’

उनले आफ्नो पार्टी कम्युनिस्ट पार्टीबीच एकताको पक्षमा रहे पनि तत्काल वाम एकता वा पार्टी एकताको सम्भावना नरहेको पनि प्रस्ट्याएका छन् । ‘यस दौरान व्यवहारबाट के स्पष्ट भयो भने अहिले तत्काल कम्युनिस्ट पार्टीहरुबीचको एकता वा वाम एकता सम्भव छैन,’ उनले भने ।

Advertisement

अध्यक्ष नेपालले पार्टी एकता हुनका लागि पार्टीको नाम, मार्गदर्शक सिद्धान्त, सङ्गठनात्मक सिद्धान्त कार्यक्रम र कार्यदिशाजस्ता मूलभूत विषयहरूमा एकरूपता हुनुपर्नेमा जोड दिएका छन् ।