काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफू चुनौतीको सामना गर्न तयार रहेको बताएका छन् । युरोप भ्रमणबाट फर्किएपछि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले आफू नभागेको प्रष्टीकरण दिँदै चुनौतीको सामना गर्न तयार रहेको बताएका हुन् ।
नेपालले बालुवाटार जग्गा प्रकरणमा भइरहेको छानबिनमा सहयोग गर्न तयार रहेको भन्दै नेपालमा विकसित घटनाक्रमपछि आफूले भ्रमण छोट्याएर आएको बताए ।
आफू ‘नबिराउनु नडराउनु’ भन्ने मान्यतामा रहेको भन्दै अध्यक्ष नेपालले भने, ‘यो सुरुदेखिको मान्यता रहेको छ । मैले बिराएको छैन । कुनै बदमासी अपराध गरेको छैन । भ्रष्टाचार लेनदेन गरेको छैन । यो सबै स्थितिको कारणले म आत्तिएको छैन । तर, अलिकति चित्त दुखेको छ । चित्त किन दुखेको छ भने, केही गरौँला भन्यो, के पो भयो । देशको निम्ति केही गर्छु भनेर, गरेर देखाएको पनि हो । त्यसमा मलाई पूरै खुशी र गर्व पनि लाग्छ ।’
आफू विदेश गएपछि माधव नेपाल भाग्यो भनेर हल्ला फैलाइएको भन्दै उनले आफू जस्तोसुकै चुनौतीको सामना गर्ने नेचर बोकेको मान्छे भएकाले फेस गर्न तयार रहेको बताए । ‘राजाले गिरफ्तार गर्न खोज्दा त भाग्ने मान्छे हैन । कुनै गल्ती अपराध बदामासी नगरेको, भ्रष्टाचार नगरेको सन्दर्भमा पूर्वनिर्धारित कार्यक्रममा जाने अवस्था बन्यो म गएँ । बालुवाटार जग्गामा केही बदमासी भएका छन् भने त्यसको छानबिन होस्। त्यसमा मेरो तर्फबाट गर्नुपर्ने सहयोग हो, मेरो तर्फबाट सहयोगी भूमिका रहन्छ,’ अध्यक्ष नेपालले भने ।