काठमाडौं । उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले सरकार स्थिर रहने दाबी गरेका छन् । शनिवार आयोजित नेपाल टेलरिङ व्यवसायी महासंघको तेस्रो वार्षिक साधारण सभामा बोल्दै उनले निश्चित कार्य योजनासहित अघि बढेकाले सरकार स्थिर रहने बताएका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘हाम्रो मूल केन्द्रबिन्दु भनेको नेपालको अहित नहोस्, नेपाली नागरिकको अहित नहोस्, नेपाली माटोको रक्षा गर्ने कुरामा कतै असर नपरोस् मूल उद्देश्य त्यहाँ राखेर हामीले गर्ने सुधार परिवर्तन, हामीले ऐन, नियम, नीतिमा, व्यवहारमा र निर्णयमा गर्ने सुधार र परिवर्तनहरू त्यसलाई केन्द्रमा राखेर गरेको खण्डमा कसैले पनि अप्ठ्यारो मान्नुपर्ने निधार खुम्च्याउनु पर्ने, असहज मान्नुपर्ने कुनै कारण छैन । त्यसका लागि वर्तमान सरकार प्रतिबद्ध छ ।’
उनले यो सरकारको स्थिरतामा कहीँ कतै शङ्का गर्न नहुने पनि बताए । उनले भने, ‘अहिलेको अप्ठ्यारो परिस्थितिबाट मुलुकलाई माथि उठाउनको लागि मुलुकमा सुशासनको अनुभूति नागरिकलाई दिलाउन, भ्रष्टाचार, अनियमितता नियन्त्रण गर्न र मुलुकको आर्थिक अवस्थालाई माथि उठाउनका लागि सिङ्गो व्यवसायसँग जोडिएका संस्था व्यवसायीहरूलाई साथमा लिएर साझा उद्देश्यमा रूपान्तरण गरेर अघि बढ्ने निश्चित मार्गचित्र सहित वर्तमान सरकार अघि बढेको छ । यो सरकारको स्थिरतामा कहीँ कतै शङ्का गर्नुपर्ने, के हुने हो भन्नुपर्ने अवस्था छैन । हामी निश्चित कार्य योजनासहित अघि बढेका छौँ । तपाईँहरूसँग जोडिएका समस्या समाधान गर्ने कुरामा समयबद्ध तरिकाले अघि बढ्नेछौँ ।’