काटमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विश्वेश्वरप्रसाद कोइरालाको विचार र चिन्तनलाई समावेश गरेर कांग्रेस केन्द्रीय समिति अगाडि बढ्ने बताएका छन् । बीपी कोइरालाको ४१औँ स्मृति दिवसका अवसरमा ‘प्रजातान्त्रिक विचार समाज’ले आज यहाँ आयोजना गरेको ‘आजका सन्दर्भमा बीपीका विचार’ विषयक विचार गोष्ठीमा बोल्दै महामन्त्री शर्माले यस्तो बताएका हुन् ।
महामन्त्री शर्माले भने, ‘लोकतान्त्रिक प्रतिनिधिका रुपमा हामीले बीपीलाई चिन्नुपर्छ, बीपी दुरदर्शी र परिपक्क नेता हुनुहुन्थ्यो, बीपी कोइरालाको विचारलाई कांग्रेसले छाडेको छैन ।’
उनले नेपालको कम्युनिष्ट आन्दोलनले बीपीलाई समयमा चिन्न नसकेको पनि बताए । उनले भने, ‘बीपीलाई कम्युनिष्ट आन्दोलनले चिन्न नसक्दा झापा आन्दोलन र माओवादी आन्दोलन भयो, उक्त आन्दोलनका कारण देशले ठूलो क्षति व्यहोर्नुप¥यो ।’
महामन्त्री शर्माले मुलुकभर तीन सय २९ स्थानीय तहको नेतृत्व गरेको कांग्रेसले चार प्रदेश सरकारको समेत नेतृत्व गरेकाले अब राम्रो काम गरेर आगामी निर्वाचनमा पहिलो पार्टी बन्ने वातावरण बनाउन जुट्नुपर्ने बताए । ‘हामीले २०८४ सालको निर्वाचनको चिन्ता गर्ने होइन, अहिलेको चिन्ता गर्ने हो, राम्रो काम गर्ने हो, सङ्गठनलाई बलियो बनाउने हो,’ महामन्त्री शर्माले भने ।
प्रजातान्त्रिक विचार समाजका अध्यक्ष एवं वरिष्ठ पत्रकार कुलचन्द्र वाग्लेले प्रजातन्त्र बलियो भएमात्र देश बलियो हुने भएकाले प्रजातन्त्र बलियो बनाउन कांग्रेस लाग्नुपर्ने जिकिर गरे ।