September 25, 2023, Monday
२०८० आश्विन ८
1:37:26 pm

पार्टीको स्वास्थ्यमा गम्भीर समस्या छ, सर्जरीकै खाँचो छ: प्रदीप पौडेल

725

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले सभापति चुन्न पार्टीका सबै क्रियाशील सदस्यले मत दिने व्यवस्था गर्न प्रस्ताव गरेका छन् । शुक्रबारको केन्द्रीय समिति बैठकमा उनले पार्टीका सबै तहका चुनाव प्रत्यक्ष हुनुपर्ने प्रस्ताव गरेका हुन् ।

बैठकमा बोल्दै उनले भने, ‘पार्टीको सभापतिसहित नेतृत्व चुन्ने चुनावमा सबै सदस्यले भोट हाल्ने व्यवस्था गरौं ।’ प्राइमरी इलेक्सन गरेर उम्मेदवारहरू छनौट गर्नुपर्ने उनको भनाइ छ । ‘प्राइमरी इलेक्सनको व्यवस्था गरेर टिकट वितरण गरौं । हामीले पार्टीको एउटा व्यक्तिलाई चारपटक भन्दा बढी संघीय सांसद्को टिकट दिनुहुँदैन । प्रदेशमा २ पटक र समानुपातिकमा १ पटक मात्रै अवसर दिने प्रबन्ध गरौं,’ उनको प्रस्ताव छ ।

उनले विभिन्न समयमा भएका घटनाले पार्टी संकटमा पुगेको पनि बताए । संकट पार लगाउन सिटामोलले नपुग्ने, सर्जरी नै गर्नुपर्ने उनको भनाइ छ । ‘कांग्रेस संकटमा छ भन्ने मानेर कसैको दाइ, भाइ र अनुयायी नभई आत्ममूल्यांकन गर्न जरूरी छ । अहिले पार्टीको स्वास्थ्यमा गम्भीर समस्या छ। सिटामोलबाट हल हुने अवस्था छैन, सर्जरीकै खाँचो छ ।’ उनले बताए ।

Advertisement

यस्तै, पौडेलले कांग्रेसको सदस्यता वितरण खुकुलो बनाउनुपर्ने बताए । उनले भने, ‘कांग्रेस मासबेस पार्टी हो । यहाँ सदस्यताको वर्गीकरण गर्न हुँदैन । लिन चाहनेलाई सजिलोसँग सदस्यता दिनुपर्छ ।’

उनले निर्वाचन प्रणाली बदल्न कांग्रेसले नेतृत्व लिनुपर्ने बताए । प्रतिनिधिसभा समावेशीसहित २०१ सिटको पूर्ण प्रत्यक्ष हुनुपर्ने उनको भनाइ छ । राष्ट्रियसभा समावेशीसहित ३५ सिटको बनाउन सकिने उनले बताए ।