काठमाडौं । नेपाली कांग्रेसका सांसद सुनिल शर्माले अर्थमन्त्री र गृहमन्त्रीको राजीनामा माग गरेका छन् । उनले सुन तस्करी बारे छानबिनमा सहयोग गर्न उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री प्रकाशशरण महतले राजीनामा दिनुपर्ने बताएका हुन्।
उनले अर्थ मन्त्रालय मातहत रहेको राजस्व विभाग र गृह मन्त्रालय मातहतको सुरक्षा निकायले एक क्विन्टल सुन अवैध रुपमा भित्रिएको थाहा नपाउने भन्ने कुरै नहुने बताउदै प्रधानमन्त्री मातहतको राष्ट्रिय अनुसन्धान विभागले सुन पक्रेकाे दाबी पनि गरेका छन् ।
प्रतिनिधिसभाको कानून, न्याय तथा मानवअधिकार समितिको बैठकमा बोल्दै उनले भने, ‘प्रधानमन्त्री जीवनसाथीको निधनमा शोकमा हुनुहुन्छ । यही बेला सय किलो सुन अवैध रुपमा आयो । राजस्व विभाग अर्थमन्त्रालय अन्तर्गत पर्छ । सुरक्षा गृहमन्त्रालय मतहत छ । दुवै निकायले थाहा नपाई सुन आउने कुरा हुँदैन । प्रधानमन्त्री कार्यालय मातहतको राष्ट्रिय अनुसन्धान विभागले नियन्त्रणमा लियो । यसका लागि प्रधानमन्त्रीलाई धन्यवाद दिनुपर्छ ।’
उनले दुई मन्त्रीले बाटो खुला गरेर प्रधानमन्त्रीलाई सहयोग गर्नुपर्ने बताएका हुन् ।
मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा र भन्सारबाट पास भएर निकालिएको करिब एक क्विन्टल सुन बरामद भएको थियो ।