February 13, 2026, Friday
२०८२ फाल्गुन १
1:37:26 pm

दुवै सदनमा एमालेले माग्यो प्रधानमन्त्रीको राजिनामा

995

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामालाई बटमलाइन बनाउँदै प्रमुख प्रतिपक्षी नेकपा एमालेले संघीय संसदको दुबै सदन अवरुद्ध गरेको छ ।

प्रधानमन्त्री प्रचण्डले सोमबार दिएको अभिव्यक्तिलाई लिएर एमालेले बुधबार राष्ट्रियसभा बैठक अवरुद्ध ग¥यो । लगत्तै बसेको प्रतिनिधिसभा बैठक पनि चल्न दिएन ।

के अभिव्यक्ति थियो प्रचण्डको ?
सोमबार ‘रोड्स टु द भ्यालीः द लिगेसी अफ सरदार प्रितम सिंह इन नेपाल’ पुस्तक विमोचन कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन प्रितम सिंह पटक पटक दिल्ली गएको बताएका थिए ।

Advertisement

प्रधानमन्त्रीको अभिव्यक्तिले संसदको अपमान गरेको र नेपालको स्वाभिमान गिरेको एमालेको निष्कर्ष छ ।

दुवै सदनमा प्रधानमन्त्रीको राजिनामा माग
राष्ट्रिय सभाको बैठकमा एमाले संसदीय दलका नेता देवेन्द्र दाहालले दिल्लीको इशारामा बनेका प्रधानमन्त्री आफूहरुलाई स्वीकार्य नहुने बताए । त्यसैगरी प्रतिनिधिसभा बैठकमा बोलेका एमाले सांसद रघुजी पन्तले पनि प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने बताए ।

प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक अघि एमालेले संसदीय दलको आकस्मिक बैठक राखेको थियो । संसद भवन नयाँ वानेश्वरमै बैठक करिब २५ मिनेट बसेको थियो, जहाँ ओलीले झण्डै २० मिनेट बोलेका थिए । त्यसक्रममा उनले प्रधानमन्त्री प्रचण्डले विगतमा दिल्ली लक्षित दिएका अभिव्यक्तिहरु स्मरण गरे ।

माओवादीले राजीनामा कल्पना पनि गर्न नसक्ने
सरकारको नेतृत्वकर्ता माओवादी केन्द्रले भने प्रधानमन्त्रीको राजीनामा कल्पना समेत गर्न नसकिने बताएको छ । माओवादी प्रमुख सचेतक हितराज पाण्डे सरकारले सुशासनमा सरकारले दिएको पहलबाट अतात्तिएर प्रधानमन्त्रीको राजीनामा मागिएको बताए ।

मिटरब्याज पीडितहरुका लागि ल्याएको अध्यादेशलाई प्रातिस्थापन गर्न ल्याएको विधेयक फेल गराउन एमालेले संसद अवरुद्ध गरेको उनको आरोप छ ।