February 13, 2026, Friday
२०८२ फाल्गुन १
1:37:26 pm

नेसपाले विचार र मुद्दा मिल्नेसँग मोर्चा बनाउने

1.1K

काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा)ले नीति, सिद्धान्त, विचार मिल्ने पार्टी र समूहहरूसँग संवाद, सहकार्य बढाउँदै ध्रुवीकरणको पहल गर्ने र मुद्दा मिल्ने पार्टीहरुसँग मोर्चा बनाउने भएको छ ।

संगठन निर्माण तथा विस्तार अभियान २०८० अन्तर्गत अग्रगामी शक्तिहरूको वृहत ध्रुवीकरणमार्फत देशमा नयाँ वैकल्पिक शक्ति निर्माण गर्न प्रयत्नशील रहने समेत जनाएको छ ।

केही समयअघि बसेको नेसपा केन्द्रीय समिति बैठकको निर्णयअनुसार यही असारबाट सुरु भइ पुस महिनासम्म चल्ने अभियानको विस्तारित खाका नेसपाले सार्वजनिक गरेको हो ।

Advertisement

अभियानमार्फत पार्टीलाई वैचारिक रूपमा नयाँ प्रगतिशील, लोकतान्त्रिक, समाजवादी विकल्पको रुपमा स्थापित गर्ने नेसपाले जनाएको छ । सबै स्थानीय तहसम्म संगठनात्मक सञ्जाल बिस्तार गर्ने नेसपाको योजना छ ।

अभियानअन्गर्तगत वैचारिक तथा राजनीतिक, संगठन निर्माण तथा विस्तार, संयुक्त मोर्चा र ध्रुवीकरण, जनसंघर्ष र जनपरिचालनको लक्ष्य राखेको छ ।

अभियानको संयोजन प्रदेशमा केन्द्रीय कार्यकारिणी सदस्यहरुले गर्नेछन् भने जिल्ला र पालिकाहरुको अभियानको नेतृत्व केन्द्रीय सदस्य, संघीय परिषद सदस्य वा प्रदेश सदस्यले गर्नेछन् । नेसपाले अभियान्ताहरूले पालना गर्नुपर्ने नियम र आचारसंहिता समेत सार्वजनिक गरेको छ ।