काठमाडौं। नेपाली काँग्रेसले पार्टीको नाम, झन्डा र चुनाव चिन्ह राखेर खोलिएका विभिन्न सामाजिक सञ्जालका अकाउन्ट र पेजहरूलाई सम्पर्कमा आउनका लागि आह्वान गर्ने भएको छ । काँग्रेसले एक महिनाभित्र सम्पर्कमा नआए त्यसलाई अनधिकृत घोषित गरी कानूनी दायरामा ल्याउने जनाएको छ ।
पार्टीको सूचना, सञ्चार तथा प्रचार विभागको आज बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
विभागका प्रमुख मीनबहादुर विश्वकर्माको अध्यक्षतामा केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले विभागको कामलाई प्रभावकारी निर्देशिका मस्यौदा समिति र कार्ययोजना तर्जुमा समिति गठन गर्ने निर्णय पनि गरेको छ । सो समितिले आजको मितिदेखि १५ दिनभित्र आफ्नो प्रतिवेदन विभागका प्रमुखलाई बुझाउनुपर्नेछ ।
बैठकले सरकारले आजसम्म गरेका राम्रा कामको सन्देश जनतासमक्ष पुर्याउने निर्णय पनि गरेको छ । त्यस्तै, पार्टीको नीति र नेतृत्वको सार्वजनिक स्थलमा विरोधका अभिव्यक्तिहरू नगर्न पार्टी संगठनका सबै तहका पदाधिकारी, सदस्यहरूलाई अनुरोध गर्ने पनि निर्णय गरेको छ ।
विज्ञप्तिको पूर्ण पाठ
प्रेस विज्ञप्ति
नेपाली कांग्रेस सूचना, संचार तथा प्रचार विभागका प्रमुख श्री मीनबहादुर विश्वकमाको अध्यक्षतामा नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा आज बैठक वस्यो । बैठकमा उपस्थित ३५ जना सदस्यहरुले आ-आफ्ना धारणा राख्नु भएको थियो । बैठकले देहाय बमोजिम निर्णय गरेको छ ।
निर्णय
१. नेपाली कांग्रेसका सभापति मा. शेरबहादुर देउवालाई सम्पूर्ण विभागका प्रमुख लगायत सदस्यहरुका तर्फबाट धन्यवाद ज्ञापन गरियो ।
२. नेपाली कांग्रेसको सरकारले आजसम्म गरेका राम्रा कामको सन्देश जनसमक्ष पुयाउने ।
३.पार्टीको नीति र नेतृत्वको सार्वजनिक स्थलमा विरोधका अभिव्यक्तिहरु नगर्न पार्टी संगठनका सबै तहका पदाधिकारी, सदस्यहरुलाई अनुरोध गर्ने ।
४. विभागको दैनिक गतिविधिलाई गतिशिलताका साथ प्रभावकारी रुपमा संचालन गर्न पदाधिकारी सहितको सचिवालय गठन गर्ने र विभागको कार्यालय नेपाली कांग्रेसको केन्द्रीय कार्यालय भवन, सानेपामा राख्ने ।
५ विभागका सदस्यहरुको विशिष्ट ज्ञान, क्षमता अनुसार कार्यविभाजन गर्ने उद्देश्यले व्यक्तिगत विवरण संकलन गर्ने ।
६. विभागको आफ्नै वेभसाईट र आधिकारिक समाजिक संजाल सञ्चालन गर्ने र हाल संचालित पार्टीको नाम, झण्डा र चुनाव चिन्ह राखी खोलिएका विभिन्न सामाजिक संजाल र अन्य पेजहरुलाई यस विभागमा आजका मितिले एक महिनाभित्र सम्पर्क गर्न आव्हान गर्ने र तत्पश्चात पनि सम्पर्कमा नआउनेलाई अनाधिकृत घोषित गरी कानुनी दायरामा ल्याउने ।
७ विभागको कामलाई प्रभावकारी बनाउन तपशिल बमोजिम निर्देशिका मस्यौदा समिति र कार्ययोजना तर्जुमा समिति गठन गर्ने र सो समितिले आजका मितिदेखि १५ दिनभित्र आफ्नो प्रतिवेदन विभागका प्रमुखलाई बुझाउने निर्देशिका मस्यौदा समितिमा संयोजक श्री दिपकप्रसाद कुईकेल र सदस्यहरु श्री गोविन्द परियार, श्री गणेश के सी. श्री लिला खनाल, श्री अनुषा नेपाल, श्री राजबहादुर गुरुङ्ग र श्री निमग हुमागाई रहने छन् भने कार्ययोजना तर्जुमा समितिमा समितिका संयोजक श्री गोपालकुमार का र सदस्यहरु श्री तिलक राई, श्री उमिद वागचन, ई हुकम बुढा, श्री विष्णु तिम्सीना, ई राघव गौतम र श्री रम्मा मिश्र रहेका छन् ।
८. नेपाली कांग्रेसका पूर्व सभापति एवं पूर्व प्रधानमन्त्री नेपाली राजनीतिका शिखर पुरुष गिरिजाप्रसाद कोइरालाको आज पर्न गएको शताब्दीऔं जन्म जयन्तीको अवसरमा उहाँप्रति हार्दिक श्रद्धासुमन व्यक्त गरियो । आज पर्न गएको गुरुपूर्णिमाको अवसरमा सम्पूर्ण गुरुज्यूहरुप्रति हार्दिक सम्मान व्यक्त गरियो ।