काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले काँग्रेस बदल्न महामन्त्री पद त्याग्न तयार रहेको बताएका छन् । नेपाली काँग्रेस दोलखा-काठमाडौं सम्पर्क समितिले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो अभिव्यक्ति दिएका हुन् ।
महामन्त्री थापाले आफू काँग्रेस बदल्ने अभियानमा लागि परेको बताउदै र दाग लागेको काँग्रेसको महामन्त्री बन्नुभन्दा सफा काँग्रेसको कार्यकर्ता भएर बस्न आफूलाई मन भएको बताए। उनले भने, ‘काँग्रेस बदलियो भने बदलिएको काँग्रेसले देश बदल्छ हेर्नोस्। यो देश बदल्नै पर्छ। बदलिएको काँग्रेसले मात्रै यो काम गर्न सक्छ। तर काँग्रेस बदल्न हामी प्रत्येक बदलिन तयार हुनुपर्छ । म बदलिन तयार छु। म बदलिन तयार छु भनेको मैले पटकपटक भनेको छु । दाग लागेको काँग्रेसको महामन्त्री हुनुभन्दा सफा काँग्रेसको कार्यकर्ता मात्रै भएर बस्दा बडो मजा आउँछ। त्यो बदलिन म तयार हो। सबै तयार हुनुपर्छ।’
यस्तै उनले पार्टीका शीर्ष नेताहरू पटकपटक प्रधानमन्त्री भइरहेकै कारण पूराना पार्टी संकटमा परेको बताए। यस्तो अभ्यास कुनै पनि देशमा नभएको पनि उनले बताए। ‘संसारमा एउटा त्यस्तो देश मलाइ बताइदिनुस्, जुन देशमा व्यक्ति, एउटा नेता पाँचपटक, ६ पटक प्रधानमन्त्री भएको मलाई बताइदिनुस्। कहीँ हुँदैन। कुनै डेमोक्रेसीमा हुँदैन । नेपालमा आज किन पुरानो पार्टी संकटमा छन्, थाहा छ? काँग्रेस, एमाले, माओवादी पार्टी सबै एकसाथ संकटमा पर्नुको थुर्पै कारण मध्येको मूल कारण भनेको ती पार्टीको नेताहरू खासगरी पार्टीहरू जमेको पोखरी जस्तो भयो।’
कोही नेता किन पटकपटक प्रधानमन्त्री बन्ने भनेर छलफल र बहस गर्न आवश्यक रहेको पनि महामन्त्री थापाले बताए