November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

देश कमेडीले चल्दैन: रामकुमारी झाँक्री

4K

काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीले प्रधानमन्त्री केपी शर्मा ओलीको चर्को आलोचना गरेकी छन् । उनले प्रधानमन्त्री ओली उखान टुक्का र कमेडीमै रमाउने गरेको भन्दै देश कमेडीले होइन, सोचले बन्ने बताइन् ।
सोमबार चितवनको भरतपुरमा आयोजित प्रचण्ड–नेपाल समूहको नगरस्तरीय अगुवा पार्टी कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।

‘प्रधानमन्त्रीले कमेडी गरिरहनु भएको छ, देश कमेडीले बन्ने होइन सोचले बन्ने हो’ झाँक्रीले भनिन्, ‘देश बनाउन भ्रष्ट नहुने चरित्र चाहिन्छ । सबै स्रोत कब्जा गर्ने भ्रष्ट चरित्रले देश बन्दैन ।’ सत्तरी करोडको डिल भएको अडियो सार्वजनिक भएर भ्रष्टाचारमा मुछिएकालाई काखी च्याप्ने प्रधानमन्त्रीले भ्रष्टाचार हुन नदिने भन्नु नै हास्यास्पद भएको उनको भनाइ थियो ।

बाँचुन्जेल शक्तिमा रहन प्रधानमन्त्री ओलीबाट संसद विघटन भएको बताउँदै उनले भनिन्, ‘संसद विघटन जघन्य राजनीतिक अपराध हो । संविधानले यो अधिकारै दिँदैन । संसद विघटन राजनीतिक प्रश्न हो, सडकबाटै यसको छिनोफानो हुनेछ । संसद विघटन संवैधानिक प्रश्न होइन, कानुनी प्रश्न हो । सर्वोच्चको फूल बेन्चमा यसलाई हेर्नु पर्छ ।’ उनले भनिन् ।

Advertisement