कलैया । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का पोलिटब्युरो सदस्य दिनेश राईले संगठन विस्तारमा लाग्न निर्देशन दिएका छन् । बाराको निजगढ नगरपालिका कमिटीको नगर स्तरीय कार्यालय स्थापनालाई सम्बोधन गर्दै पोलिटब्युरो सदस्य राईले पार्टी एवं जनवर्गीय संगठनको सदस्यता वितरण, नवीकरण, सङ्गठनलाई पुनर्गठन गर्दै अगाडि बढनुपर्ने बताए ।
‘एमालेका केही हनुमान नेताहरुले एकीकृत समाजवादी र एमालेका बीचमा पार्टी एकीकरण हुन लागेको भन्ने हल्ला फिजाउँदैछन्, त्यो सत्य होइन’ राईले भने, ‘उनीहरूको झूटा कुरामा तपाईहरु नलाग्नुस, एकीकृत समाजवादी र एमालेका बीचमा कुनै एकता गर्ने कुरा छैन्, अहिले संगठन निर्माणको अभियानमा जुट्नुस् ।’
पार्टी संगठन निर्माणमा जुटन आग्रह गर्दै उनले अबको चार बर्षपछि हुने स्थानीय निर्वाचनको अग्रिम तयारी अहिलेदेखि नै गर्नुपर्ने बताए । आगामी निर्वाचन केन्द्रित संगठन निर्माण गर्दै अहिले देखी नै तयारीमा जुटनु पर्नेमा उनको जोड थियो ।
निजगढको लच्कास्थित निर्मला लामाको घरमा एकीकृत समाजवादीको पार्टी कार्यालय स्थापना गरिएको छ । सोही अवसरमा नगरकमिटीसमेत विस्तार गरिएको छ । एकीकृत समाजवादीका नगरकमिटी अध्यक्षमा भिम सापकोटा उपाध्यक्षमा विजय लामा, सचिवमा ध्रव धिताल सदस्यहरूमा सतल थिंङ लामा, लालमाया जिम्बा, सावित्री भण्डारी, निर्मला लामा, राजकुमार लामा, सुन्दर थिंङ लामा रहेका छन् ।
बैठकले वडा कमिटी विस्तार, जनवर्गीय संगठनको निर्माण लगायतका कामलाई चैत मसान्तभित्र गर्ने निर्णय भएको छ । यसैगरी सदस्यता वितरण समेत गर्ने निर्णय भएको छ ।
कार्यक्रममा पार्टीका केन्द्रीय सदस्यद्वय विभा कार्की, हिमाल खरेल, मधेस प्रदेश कमिटीका सदस्य मानध्वज लामा, जिल्ला अध्यक्ष विजेन्द्र चौधरी, जिल्ला सचिवालय सदस्य सुभास साह, जितपुर सिमरा नगरकमिटीका सदस्य निशान खनाल लगायतको विशेष सहभागिता रहेको थियो ।