-दिनेश खरेल
काभ्रे। नेकपा एकीकृत समाजवादी काभ्रेले जिल्ला अधिवेशन २०८० साल जेष्ठ २७ र २८ गते गर्ने भएको छ । बनेपामा बसेको पार्टीको छैटौँ जिल्ला कमिटीको पूर्ण बैठकले आगामी जेठ २७ र २८ गते जिल्ला अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको हो।
उक्त बैठकले जिल्ला अधिवेशन हुनु आगाडि पालिका र वडा स्तरीय पार्टी सुदृढीकरण , पुनर्गठन अभियान सञ्चालन गर्ने र गठन हुन बाँकी जनवर्गीय संगठन र वडा कमिटीलाई पूर्णता दिने निर्णय पनि गरेको छ।
जिल्ला कमिटी बैठकमा अध्यक्ष बसुन्धरा हुमागाईंले सांगठनिक प्रतिवेदन पेश गर्नुभएको थियो भने जिल्ला समिति सचिव गोकुल गौतमले भावी कार्ययोजना प्रस्तुत गर्नुका साथै कार्यालय सचिव हरिगोपाल प्रधानाङ्गले आर्थिक प्रतिवेदन पेश गर्नुभएको थियो। यस्तै बैठकले विभिन्न विषयमा घनिभूत छलफल गरि सांगठनिक प्रतिवेदन तथा कार्ययोजना पारित गरेको थियो।
जिल्ला पार्टी अध्यक्ष बसुन्धरा हुमागाईंको अध्यक्षतामा सम्पन्न भएको बैठकमा स्थायी कमिटी सदस्य तथा बाग्मती प्रदेश अध्यक्ष सावित भुसाल, केन्द्रीय सदस्यद्वय कृष्ण प्रसाद सापकोटा र विदुर सापकोटाले पार्टीलाई सही ढंगबाट अगाडि बढाउन सामूहिक निर्देशन दिएका थिए ।