काठमाडौं । काठमाडौंको पुरानो बसापार्कमा काठमाडौं भ्युटावर निर्माण गरिरहेका ठेकेदार तथा इनोभेटिभ कन्सेप्ट नेपाल प्रालिका सञ्चालक मनोजकुमार भेटवाल पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले भेटवाललाई बुधबार पक्राउ गरेको हो ।
चेक बाउन्स सम्बन्धी उजुरी परेपछि भेटवाललाई पक्राउ गरिएको परिसरका प्रमुख तथा एसएसपी दानबहादुर कार्कीले जानकारी दिए । ठूलो रकम ठगी गरेको भन्दै विभिन्न व्यक्तिले उनीमाथि उजुरी दिएका थिए । तत्कालीन एपेक्स डेभलपमेन्ट बैंकमा भएको डेढ अर्ब बढी घोटाला काण्डमा यसअघि पनि उनी तानिएका थिए।
भेटवालले पछिल्लो समय काठमाडौंस्थित पूरानो बसपार्क २९ तलाको काठमाडौं भ्यू टावरको ठेक्का पाएर निर्माण गरिरहेका छन्। भेटवालले बैकका कर्मचारीको मिलोमतोमा कमसल जग्गा धितो राखेर ११ करोड ९० लाखभन्दा बढी ऋण लिएको देखिएको यसअघि नै अनुसन्धानबाट खुलेको थियो।
तेह्रथुमको गाउँमा जन्मिएर झापा बसाइँ सरेका उनी पछिल्लो समय काठमाडौंमा ठेक्कापट्टमा क्रियाशील छन् । दुई बर्ष अघि निर्वाचन आयोगमा दर्ताका लागि पुगेको प्रस्तावित नेकपा एमालेको अध्यक्षका रुपमा भेटवालको पनि नाम रहेको खुलेको थियो । उनी त्यसबेला प्रस्तावित नेकपा एमालेको अध्यक्षकै रुपमा नयाँ पार्टी दर्ताका लागि त्यहाँ पुगेका थिए।
सरकारको कारवाहीको सूचीमा परेका उनी निर्वाचन आयोगमा पुगेपछि खैलाबैला भएको थियो। उनले यसअघि पनि चेक बाउन्स र विदेशी मुद्रा अपचलनको मुद्दा खेपेका थिए । चन्द्र तामाङको किटानी जोहरीमा भेटवालले ७५ लाख रुपैयाँ ठगी गरी भारतका विभिन्न सहरमा लुकेर बसे पनि पछि उनी नेपालमै आएर प्रहरी समक्ष आत्मसपर्मण गरेका थिए । त्यस्तै काठमाडौंको खुलामञ्च कब्जा गरेर सटर बनाइ भाडामा लगाउने प्रयास गर्दा उनको चर्को विरोध भएको थियो ।