April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

रास्वपाको निर्णय : तत्काल सरकारमा नजाने, १६ केन्द्रीय सदस्य चयन

1K

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले तत्काल सरकारमा नजाने निर्णय गरेको छ । सोमबार पार्टी केन्द्रिय कार्यालय बसुन्धारामा बसेको केन्द्रिय समिति र संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकपछि निर्णयहरु सुनाउँदै पार्टीका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले तत्काल सरकारमा नजाने निर्णय भएको बताए । उनले सत्तारुढ दलहरुले आफ्नो पार्टीसँग भएको सहमति तोेडिसकेपछि आफू सरकारमा नबसेको स्पष्ट पारे । उनले सत्तारुढ दलहरुले अझै सरकारमा आउन आग्रह गरेपनि पार्टीसँग भएको सहमति कार्यान्वयन नभइ आफूहरु सरकारमा नजाने बताए ।

यसअघि वर्तमान सरकारले तय गरेका साझा कार्यक्रम कार्यान्वयनका लागि भन्दै रास्वपा फेरि सरकारमा सहभागी हुने संकेत गरेको थियो । निर्वाचन आयोगले उपनिर्वाचनको मिति घोषणा गरेसँगै फागुनभित्रमा रास्वपामा सरकारमा सहभागी हुन लागेको बताइएको थियो ।

Advertisement

पार्टीका सभापत रवि लामिछाने पनि राष्ट्रपति निर्वाचनलगायत विषय तय गर्नुपर्ने,न्यूनतम साझा कार्यक्रमको स्पिरिट र डेलिभरीजस्ता विषयलाई समेट्नु पर्ने लगायतका विषयहरु रहेकाले सरकारमा सहभागी हुने र उपनिर्वाचनपछि आफैँ पनि सरकारमा जाने भएकाले राष्ट्रपति निर्वाचन अघि नै सरकारमा सहभागी हुने संकेत गरिसकेको रास्वपा स्रोतको दाबी थियो ।

त्यस्तै, बैठकले राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रिय समिति सदस्य २४ जनाबाट बिस्तार गरेर ४० जनाको बनाएको छ । सोमबार नयाँ केन्द्रिय समिति सदस्यका रुपमा १६ जना चयन गरेको हो ।

मनोनित हुनेमा निशा मेहता, विन्द्यवासिनी कंसाकार, रुपा शंकर, विजय जैरु, मेघ आले, मोहनबहादुर थापा, खुस्बुसरकार श्रेष्ठ, टिका संग्रौला, हरि भट्ट, ध्रुव गिरी, लिमा अधिकारी, रमेश प्रसाईं, अर्जुन अधिकारी, क्रान्तिशिखा धिताल, प्रतिभा रावल र गोमा क्षेत्री छन् ।

त्यस्तै बैठकले अभियान तथा प्रचारप्रसार विभाग, प्रवासी नेपाली सम्पर्क विभाग, प्रशिक्षण विभाग, संगठन विभाग, उद्योग, वाणिज्य, श्रम तथा उपभोक्ता हीत विभाग लगायतका २२ वा विभाग निर्माण गरी विभाग प्रमुख तोकेको छ । सुदूरपश्चिम प्रदेश इन्चार्ज ज्ञानेन्द्र महतारा मनोनयन भएका छन् ।