काठमाडौं । प्रतिनिधिसभा सभामुखका लागि सत्तारूढ दल नेकपा एमाले र प्रतिनिधिसभामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिएको संसद्कै ठूलो दल नेपाली कांग्रेसबीच प्रतिस्पर्धा हुने अवस्था बन्दै गएको छ ।
सभामुख चयनका लागि बिहीबार मतदान गर्नेगरी संघीय संसद् सचिवालयले आज मंगलबार निर्वाचन कार्यक्रम प्रकाशित गर्दै छ । सचिवालयले सभामुख चयन प्रक्रियाका लागि तीन दिने कार्यक्रमसहित निर्वाचन कार्यक्रम सार्वजनिक गर्ने तयारी गरेको हो । सभामुख चयन प्रक्रियामा प्रतिनिधिसभा सदस्यले मतदान गर्नेछन् ।
संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार आज निर्वाचन कार्यक्रम प्रकाशित हुनेछ । भोलि बुधबार सभामुखका लागि उम्मेदवार मनोनयन दर्ता हुने छ । पहिलो दिन सभामुख निर्वाचनका लागि सूचना जारी गर्ने, दोस्रो दिन उम्मेदवारी दर्ता र तेस्रो दिन मतदान गर्नेगरी कार्यक्रम सार्वजनिक गर्ने तयारी छ,’ संसद् सचिवालयका प्रवक्ता गिरीले भने ।
संवैधानिक व्यवस्थाअनुसार प्रतिनिधिसभा सदस्यले आफूमध्येबाट एकलाई सभामुख चयन गर्नुपर्छ । गत ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनबाट २ सय ७५ सदस्य चयन भएका थिए । हाल प्रतिनिधिसभा अध्यक्षता ज्येष्ठ सदस्यको हैसियतले पशुपति शमशेर जबराले गर्दै आएका छन् । प्रतिनिधिसभाले सभामुख चयन नगर्दासम्म ज्येष्ठ सदस्यले नै संसद् सञ्चालन गर्ने संवैधानिक व्यवस्था छ ।
सभामुख निर्वाचनमा भने सत्ता गठबन्धनमा भएको सहमतिअनुसार एमालेले आफ्नोतर्फबाट उम्मेदवार उठाउने तयारी गर्दा कांग्रेसले पनि सभामुखमा उम्मेदवार खडा गर्ने योजना बनाएको छ । कांग्रेसले केही दिनअघि धुम्बाराहीस्थित सभापति शेरबहादुर देउवा निवासमा बसेको पदाधिकारी बैठकमार्फत सभामुखका लागि अन्य दलसँग छलफल गर्ने बताएको थियो ।
कांग्रेस प्रमुख सचेतक रमेश लेखक कांग्रेसले सभामुखमा ‘कसलाई उम्मेदवार बनाउने ?’ भन्ने विषयमा आज मंगलबार टुंगो लाग्ने बताउँछन् । एमालेले नेता पृथ्वी सुब्बा गुरुङलाई सभामुख उम्मेदवार बनाउने गरी भित्री तहमा छलफल भएको छ । कांग्रेस स्रोतका अनुसार नेता अर्जुननरसिंह केसी, विमलेन्द्र निधि र ज्ञानेन्द्रबहादुर कार्कीले सभामुखका लागि इच्छा देखाउँदै आएका छन् ।
हालको सत्तागठबन्धन बन्दा भने प्रतिनिधिसभाको पाँचवर्षे कार्यकालका लागि नेकपा एमाले र माओवादी केन्द्रबीच आधाआधा कार्यकाल सभामुख भागबन्डा गर्ने सहमति भएको बताइन्छ । सभामुखका लागि एक जनाको मात्रै मनोनयन परेको अवस्थामा भने प्रतिनिधिसभा बैठकमा समर्थकले बोलिसकेपछि ज्येष्ठ सदस्य जबराले सभामुखमा निर्विरोध निर्वाचित घोषणा गर्नेछन् ।
तर, एकभन्दा बढी उम्मेदवार भएको अवस्थामा दर्ता क्रमानुसार प्रस्तावकले प्रस्ताव प्रस्तुत गर्ने र समर्थकले समर्थन गर्ने क्रम सकिएपछि सबै प्रस्तावमाथि संक्षिप्त छलफल हुनेछ । त्यसपछि ज्येष्ठ सदस्यले दुबै सभामुखको उम्मेदवारी प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्नेछन् ।