July 19, 2024, Friday
२०८१ श्रावण ५
1:37:26 pm

घनश्याम भुसाल भन्छन् : जबजबारे एमालेका नेताले एक लाइन पनि लेख्न सक्दैनन्

1.1K

काठमाडौं । नेता घनश्याम भुसाल नेकपा(एकीकृत समाजवादी)मा प्रवेश गरेका छन् । शुक्रबार एक समारोहबीच अध्यक्ष माधवकुमार नेपालले भुसाललाई स्वागत गरे । समारोहमा बोल्दै भुसालले ओलीवाद हावी भएका कारण मुलुकको कम्युनिष्ट आन्दोलन अप्ठ्यारोमा पर्दै गएको दावी गरे ।

एमाले परित्याग गरेको केही समयपछि पार्टी प्रवेश गरेका उनले ज्ञान, विज्ञान, तर्क र प्रमाणमाथि ओलीवाद हावी भएपछि कम्युनिष्ट आन्दोलन अप्ठ्यारोमा पर्दै गएको बताएका हुन् । नेता भुसालले ओलीले राज्य र पार्टीलाई आफ्नो नोकर ठान्ने सिद्धान्त लिएको, सर्वत्र मै हुँ भन्ने विचार लिएको तथा सौराहा काण्डलाई नै संगठन ठान्ने नीति लिएको समेत बताए ।

आफूले यसो भन्दै आएको र यसमा कसैले पनि बहस गर्न नसकेको उनको भनाई थियो । नेता भुसालले निर्वाचनमा आफूलाई ओलीले उम्मेदवार नबनाउने कुरा थाहा भएको उल्लेख गर्दै आफ्नो निर्वाचन क्षेत्रमा मण्डलले दिपक बोहोरालाई उम्मेदवार बनाएपछि सो पार्टी परित्याग गर्नु परेको स्पष्टिकरण समेत दिए ।

Advertisement

नेता भुसालले आफू अहिले पनि नेकपाकै सदस्य भएको र यसको वैभवलाई एक ठाउँमा ल्याउने काम नेकपा (एकीकृत समाजवादी(ले मात्रै गर्न सक्ने भएकाले सो पार्टीमा प्रवेश गरेको तर्क समेत गरे । उनले जनताको बहुदलीय जनवादबारे एकलाईन पनि लेख्न सक्ने क्षमता एमालेका नेताहरुसँग नरहेको जिकीर समेत गरे । नेता भुसालले जनताको बहुदलीय जनवादको ब्याज खाएर हिँडने बाहेक एमालेका नेताहरुले केही पनि गर्न नसकेको समेत बताए ।

समारोहमा एकीकृत समाजवादीका अध्यक्ष नेपालले पार्टीलाई नयाँ ढंगबाट पुनर्गठन गर्ने बताए । उनले इमानदार कम्युनिष्टहरुलाई एकताबद्ध बनाएर हातेमालो गर्दै अघि बढ्ने बताए । पार्टीलाई नयाँ उचाइमा पुर्‍याउने अभियानमा नेता भुसाल जोडिएपछि अध्यक्ष नेपालले खुशी व्यक्त गरे ।