July 19, 2024, Friday
२०८१ श्रावण ५
1:37:26 pm

राप्रपाको तर्फबाट पशुपति शमशेर राणाको उपराष्ट्रपतिमा दाबी !

1.1K

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी सत्ता गठबन्धनमा सहभागी भएको छ । सरकारमा जाने निर्णय पनि गरिसकेको छ । सरकारमा जाने निर्णय गरे लगत्तै बाग्मती प्रदेशमा सभामुख दाबी गरिरहेको छ । त्यहाँ सभामुख दिने सहमति पनि भएको छ ।

साथै संसद्मा ज्येष्ठ सदस्यको हैसियतले राप्रपाबाट समानुपातिक सांसद रहेका पशुपति शमशेर राणाले सभामुखका हैसियतमा संसद् चलाइरहेका छन् । माघ ५ गतेसम्म संसद् उनले कमाण्ड गर्नेछन् ।

यही भूमिकाका कारण राप्रपाले सत्तामा पनि राम्रो हैसियतसहित जान खोजिरहेको छ । यस्तो अवस्थामा राप्रपाले सत्ता गठबन्धन दलहरूसँग अर्को पनि प्रस्ताव गरेको छ ।

Advertisement

राष्ट्रपति र सभामुख एमालेको भागमा परेपछि उपसभामुख कुनै साना दलहरूलाई दिने तयारी छ । उपराष्ट्रपतिमा माओवादी आफैको दाबी छ । अहिले भने राप्रपाले पनि दाबी गरेको स्रोतले जनाएको छ । राप्रपाको तर्फबाट पशुपति शमशेर राणाले उपराष्ट्रपति दाबी गरेको स्रोतले जनाएको छ ।

‘राप्रपाले उपराष्ट्रपति माग्न थालेको छ, त्यसमा पनि राणाले रहर गरेको बुझिन्छ’, सत्ता गठबन्धन दलका एक नेताले भने । उनका अनुसार भोलि पाउला नपाउला त्यो बेग्लै कुरा हो तर आजको दिनमा राप्रपाले पनि उपराष्ट्रपति मागेको विषयमा दलहरूभित्रै हाँसो उत्पन्न भएको छ ।