November 3, 2024, Sunday
२०८१ कार्तिक १८
1:37:26 pm

आम निर्वाचन २०७९ : निर्वाचित हुनेमा कति महिला, कति पुरुष ?

1.7K

 काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभातर्फ २७५ र प्रदेशसभातर्फ ५५० गरी कुल ८२५ जना सदस्य निर्वाचित भएको जनाएको छ । बुधबार पत्रकार सम्मेलनमार्फत आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सो कुराको जानकारी दिए । 

जसअन्तर्गत प्रतिनिधिसभातर्फ पुरुष १८४ जना (६६.९० प्रतिशत) र महिला ९१ जना (३३.१० प्रतिशत) निर्वाचित भएका छन् भने प्रदेशसभातर्फ पुरुष ३५० जना (६३.६४ प्रतिशत) र महिला दुई सय जना (३६.३६ प्रतिशत) निर्वाचित भएका छन्  ।

प्रमुख आयुक्त थपलियाले प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि ८६ वटा राजनीतिक दल दर्ता भएकोमा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ ६१ वटा राजनीतिक दल र समानुपातिक निर्वाचन प्रणालीतर्फ ४७ वटा राजनीतिक दल निर्वाचनमा सहभागी भएको जानकारी दिए  ।

Advertisement

प्रतिनिधिसभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ महिला २२५ र पुरुष दुई हजार १८६ गरी दुई हजार ४११ जनाको अन्तिम उम्मेदवारी कायम भएको थियो । सोही सभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ महिला एक हजार १८७ र पुरुष एक हजार १२ गरी दुई हजार १९९ जना उम्मेदवारको अन्तिम बन्द सूची कायम गरिएको थियो ।

यसैगरी, प्रदेश सभातर्फ पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि महिला २८०, पुरुष दुई ९४३ र अन्य एक गरी तीन हजार २२४ जनाको अन्तिम उम्मेदवारी कायम गरिएको थियो । सोही सभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ महिला एक हजार ५११ र पुरुष दुई हजार १९७ गरी कुल तीन हजार ७०८ गरी अन्तिम उम्मेदवारको बन्द सूची कायम गरिएको आयोगले जनाएको छ ।

यसअनुसार प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ र समानुपातिक प्रणालीका लागि कुल उम्मेदवारको सङ्ख्या जम्मा ११ हजार ५४२ रहेको आयोगले जनाएको छ ।

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि महिला ८८ लाख ४७ हजार ५७९, पुरुष ९१ लाख ४० हजार ८०६ र अन्य १८५ गरी कुल एक करोड ७९ लाख ८८ हजार ५७० मतदाता कायम रहेका थिए । अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका व्यक्तिहरूमध्येबाट मतदाता नामावली ऐन २०७३ को दफा ३० बमोजिम तयार गरिएको अस्थायी मतदाता नामावलीमा चार लाख ५० हजार मतदाता रहेका थिए ।