May 21, 2025, Wednesday
२०८२ जेष्ठ ८
1:37:26 pm

नयाँ सरकारमा सहभागी हुन सिके राउत इच्छुक !

2.7K

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सिके राउतले नयाँ सरकारमा सहभागी हुनका लागि प्रस्ताव आएको बताएका छन् । तर उनले सम्भावित नयाँ सरकारमा सहभागी हुनेरनहुने बारेमा अहिले नै केही भन्न नसकिने प्रतिक्रिया दिएका छन् ।

उनले हालको सत्तारुढ गठबन्धन र एमालेका नेताहरुले सत्तामा सहकार्य गर्न प्रस्ताव आएको स्वीकारेका हुन् । राउतले दुवै गठबन्धनसँग संवाद भइरहेको तर निष्कर्षमा पुगिनसकेको बताएका हुन् । उनले पार्टीको एजेन्डा पूरा गराउन जुन गठबन्धनले तत्परता, प्रतिबद्धता जनाउँछ त्यसैसँग सहकार्य हुने बताए । विभिन्न संचारमाध्यमहरुसँगको कुराकानीमा राउतले सरकारमा जानु परे सरकारमै जाने, बाहिरबाट समर्थन गर्नुप¥यो भने त्यो पनि गर्न सकिने वा प्रतिपक्षमै बस्नुपर्ने स्थिति आयो भने त्यो विकल्प पनि खुला रहेको बताएका छन् ।

वर्तमान सत्तागठबन्धनका केही नेताहरु सम्पर्कमा आएको बताउँदै उनले समानुपातिक परिणाम सबै आइसकेपछि सत्ता सहकार्य गर्ने नगर्ने विषयमा निर्णय गर्ने बताए । सप्तरी क्षेत्र नम्बर २ बाट जसपाका अध्यक्ष उपेन्द्र यादवलाई फराकिलो मतान्तरले पराजित गरेका राउतको पार्टी समानुपातिकतर्फ थ्रेस होल्ड कटाउँदै राष्ट्रिय पार्टी बनेको छ।

Advertisement

फरक प्रसंगमा राउतले सकेसम्म अरुलाई नै सरकारमा पठाउने यदी पार्टीलाई बचाउन वा मन्त्री बनेर जनताको माग पुरा हुने अवस्था आयो भने मन्त्री बन्न आफू तयार रहेको पनि बताएका छन् । उनले भनेका छन,‘जनताको माग पूरा गर्न जाने अवस्था आयो र मन्त्री बन्नुपर्ने भयो भने त्यसका बारेमा पनि सोच्न सकिन्छ ।’