March 5, 2024, Tuesday
२०८० फाल्गुन २२
1:37:26 pm

पराजयपछि झलनाथ खनालले भने : नतिजालाई स्वीकार गर्न सकेको छैन

1.2K

काठमाडौं । पूर्वप्रधानमन्त्री एवम नेकपा एकीकृत समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनालले आफूलाई हराउन ठूलो समूह सक्रिय भएको बताएका छन् । इलाम क्षेत्र नम्बर २ मा आफूलाई हराउन सुरुदेखि नै केही तत्वहरु सक्रिय भएको उनको भनाइ छ । आफ्नो प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार महेश बस्नेतलाई बधाई दिँदै उनले आफूलाई हराउने योजना नै बनाइएको पनि दाबी गरेका छन्।

ुमतदान प्रक्रिया शुरुदेखि नै स्वास्थ नरहेको, विभिन्न अनियमितता भएको, एउटा मतपेटिकामा मत हाल्नुपर्नेमा अर्कै मतपेटिकामा मत हालेको, कयौं मतपेटिकामा खसेको मत गणना गर्दा सयौं मतपत्र नभेटिएको, सयौं मतपत्रहरु गायब भएको, कतिपय मत पेटिकामा खसेको मतभन्दा सयौं मत बढी भेटिएको जस्ता तथ्यहरूले मतदानको प्रक्रियामा योजनाबद्ध रुपमा अनियमितता भएको कुरा छर्लङ्ग पारेको छ,’ उनले भने, ‘ती मतपत्रहरु कसरी गायब भए ? ती मतपत्रहरु कतिपय बाकसमा कसरी बढी हुन पुगे ? यी प्रश्नहरूको निर्वाचन आयोगले अहिलेसम्म तर्कसङ्गत जवाफ दिन सकेको छैन। त्यसैले मैले निर्वाचन अधिकृतले गराएको गणनाको नतिजालाई स्वीकार गर्न सकेको छैन। यस समस्याको समाधानका निम्ति कानुनी समाधान खोजिने नै छ।’

खनालले मतदातालाई धन्यबाद दिँदै इलामको प्रतिनिधिसभाका दुवै सिटमा भने निर्वाचन आयोगले नतिजा घोषणा गरे पनि गम्भीर विवाद यथावत रहेको तर्क गरेका छन्। ‘त्यस निर्वाचन प्रक्रियामा म नेकपा एकीकृत समाजवादी, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र को तर्फबाट साझा उमेदवारको रुपमा रहेको थिएँु, उनले भनेका छन्, ‘तर हाम्रो गठबन्धनको टिमलाई हराउन र इलामेली जनताको भावनामाथि कुठाराघात गर्न केही तत्वहरू सुरु देखिनै लागि रहेका थिए।’

Advertisement