March 4, 2024, Monday
२०८० फाल्गुन २२
1:37:26 pm

इलाम २ मा नेम्बाङ र खड्काको कडा टक्कर, मतान्तर ३९० मात्र

1.1K

इलाम : इलाममा पूर्वसंविधानसभा अध्यक्ष एवमे नेकपा (एमाले) उपाध्यक्ष सुवासचन्द्र नेम्बाङ र नेपाली कांग्रेसका जिल्ला सभापति डम्बरबहादुर खड्काबीच कसले चुनाव जित्लान् भनेर सर्वत्र चासोको विषय बनेको छ ।

अघिल्लो दिनसम्म एक हजार सात सय ३४ मतान्तर बनाएको नेम्बाङको अग्रता निरन्तर घटेर तीन सय ९० मा झरेपछि नेम्बाङ र खड्का चुनावी भिडन्त सर्वत्र चासोको विषय बनेको छ ।

चुलाचुली, माङसेबुङ, फाकफोकथुम गाउँपालिका एवम्, माई नगरपालिकाको ६, ७,८ र देउमाई नगरपालिकाको मतगणना सकिँदा नेम्बाङ एक हजार सात सय ३४ मतले अगाडि थिए । तर इलाम नगरपालिकाको १, २, ३ र ४ बाहेक सबै मतगणनमा सकिँदा खड्का भन्दा नेम्बाङ तीन सय ९० मतलेमात्रै अगाडि छन् ।

Advertisement

बाँकी ४ वटा वडाको मतगणनामा दुईमध्ये कस्ले चुनाव जित्छ भन्ने दुवैपक्षले सहजै आँकलन गर्न सकेका छैनन् । गत स्थानीय तहको निर्वाचन अनुसार वडा नम्बर २ मा एमालेको केही प्रभाव बलियो भएको दावी गरिएको छ भने बाँकी वडाहरुमा कांग्रेसको प्रभाव बलियो रहेको दावी गरिएको छ ।

इलाम नगरपालिकाबाट सोचे अनुरुपको मत प्राप्त नभएपछि एमाले उपाध्यक्ष नेम्बाङ तनावमा रहेको एक नेताले बताए । वडा नम्बर २ मा एमालेले ‘लिड’ गर्ने उसको दाबी छ । थोरै मतान्तरमा भएपनि जित आफ्नो पक्षमा पर्नेमा एमाले कार्यकर्ताहरु आशावादी छन् ।

यता बाँकी तीनवटै वडामा आफ्नो पकड राम्रो रहेकाले अब सहजै जित हासिल गर्ने कांग्रेसको विश्वास छ । दुवै पक्ष जित्ने आशावादी भएपनि ढुक्क भने हुन सकेका छैनन् ।

‘हेवीवेट’ नेताका रुपमा मानिएको नेम्बाङको निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम नआएससम्म सर्वत्र चासोको विषय बनेको छ ।

सो क्षेत्रमा १ लाख १५ हजार ४ सय २३ मतदाता रहेकामा ६९ हजार ८५ मत खसेको छ ।

नेम्बाङको संसदीय चुनावी यात्रा लगातार पाँचौं पटक हो । ०५६ देखि एमालेबाट लगातार त्यस क्षेत्रबाट उम्मेद्वार बन्दै आएका नेम्बाङले सबै निर्वाचन जित्दै आएका छन् ।

०५६ को संसदीय निर्वाचनमा पहिलो पटक चुनावी मैदानमा प्रवेश गरेका नेम्बाङले कांग्रेसका कुलबहादुर गुरुङलाई पराजित गरेका थिए । मुलुकको राजनीतिक परिवर्तनपछि भएको ०६४ मा भएको संविधानसभा निर्वाचनमा कांग्रेसका केशव थापालाई र ०७० को दोस्रो संविधानसभा निर्वाचनमा कांग्रेसकै भेषराज आचार्यलाई पराजित गर्दै निर्वाचित भएका थिए ।

०७४ को प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसकै थापालाई दोश्रोपटक पराजित गर्दै पराजित गर्दै संसदमा चौथो पटक निर्वाचित बनेका थिए ।