February 5, 2023, Sunday
२०७९ माघ २३
1:37:26 pm

अछामी जनतालाई झुट्टा आश्वासन दिन्नौं, जनताको साथ भएकोले जित सुनिश्चित छ: मन्त्री कुँवर

२०७९ कार्तिक २९

1.2K

अछाम । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले जनतालाई झुट्टा आश्वासन नदिने र गर्न सकिने कुरा मात्रै बोल्ने गरेकाले जनताको बलियो साथ रहेको बताए । अछामको साँफेबगरमा आयोजित सत्ता गठबन्धनको संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै अछाम क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार रहेका मन्त्री कुँवरले आफू निष्ठा र इमान्दारिताको राजनीति गर्ने भएकोले अछामी जनताको बलियो साथ रहेको बताए ।

उनले इमान्दारिताको राजनीति स्थापित गर्न सत्ता गठबन्धनका उम्मेदवारलाई बहुमतले विजयी गराउन आग्रह गरे । मन्त्री कुँवरले अछामको दिगो विकासका लागि सत्ता गठबन्धनका स्वच्छ छवि भएका इमानदार उम्मेदवारहरूलाई मंसिर ४ गते मतदान गर्न अनुरोध पनि गरे । उनले अछामका जनताकै साथले आफू राजनीतिमा रहेको बताउँदै उनलेसंविधानको रक्षा गर्दै विकास र समृद्धिका लागि सत्ता गठबन्धन बनेको बताए ।

कार्यक्रममा बोल्दै पूर्वमन्त्री गोविन्द बन्दीले यसपटकको चुनाव चुनाव मात्रै नभई नेपालको अग्रगामी परिर्वतन, संविधानको रक्षा र लोकतन्त्रको विकासका लागि भएको बताए । उनले गठबन्धनका उम्मेदवारप्रति अछामका जनताको ठुलो साथ सर्मथन रहेकाले विजयी सुनिश्चित रहेको बताए ।

Advertisement

२०७४ सालमा नेकपा माओवादी केन्द्र र एमालेबीच पार्टी एकीकरण गरी बनेको नेकपालाई जनताले बहुमत दिएर जिताए पनि केपी ओलीले ३ वर्षमै सबै तहसनहस पारेको बताए । ओली सरकारमा हुँदा उनले संविधान विपरित जनताको थलो संसद्लाई दुईदुई पटक विघटन गरेर देशलाई अँध्यारातर्फ लैजान खोजेकाले काँग्रेस माओवादी, एकीकृत समाजवादी लगायतका दलहरु मिलेर संविधान र लोकतन्त्र बचाएको उनले बताए ।

कार्यक्रममा काँग्रेसका केन्द्रिय सदस्य, पूर्व सूचना तथा सञ्चार राज्यमन्त्री गोविन्द शाहले गठबन्धनका उम्मेदवार विरुद्ध जाने नेता ,कार्यकर्ताहरु काँग्रेस बन्न नसक्ने बताए ।

अहिलेको सत्ता गठबन्धन अछाममा मात्र नभई देशैभरी भएकाले इमानदारी साथ सबैले गठबन्धनका उम्मेदवारलाई जिताउन उनले आग्रह समेत गरे । नेता शाहले देशको अस्तित्व बचाउन पनि गठबन्धन आवश्यक रहेकाले संघमा कलम, प्रदेस १ मा रुख र प्रदेस २ मा हँसिया हथौडा चुनाव चिन्हमा मतदान गर्न आग्रह समेत गरे ।

कार्यक्रममा बोल्दै काँग्रेस प्रदेश महामन्त्री एवम् सत्ता गठबन्धनबाट अछाम १ मा प्रदेश सभाका उम्मेदवार मेघराज खड्काले अछामको समग्र विकासका लागि गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गरे ।
आफूहरुले चुनाव जितेपछि अछाममा गौरवका आयोजना सेती लोकमार्ग, साफेबगरलाई नयां शहर बनाउनका लागि पहल गर्ने, अहिले चुनाव संघिय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्ने र संविधान मास्ने बिचको लडाई भएकाले आफ्ना हकअधिकारको सुरक्षाका लागि सत्ता गठबन्धनलाई जिताउन उनले आग्रह गरे ।

कार्यक्रममा बोल्दै प्रदेश सभा २ का उम्मेदवार झपट साउँदले आफ्नो क्षेत्र पछाडी परेकाले निर्वाचित भएमा आर्थिक र भौतिक विकासमा महत्वपुर्ण भुमिका खेल्ने प्रतिवद्धता जनाए । उनले जिल्लाको रामारोशन क्षेत्रलाई पर्यटकीय गन्तव्यका रुपमा स्थापित गराउन जोडदार पहल गर्ने समेत बताए । उम्मेदवार साउँदले निर्वाचित भएमा स्थानिय स्थरमै रोजगार सिर्जना गर्ने दावी समेत गरे ।