काठमाडौं । सुनसरीको इटहरी उपमहानगरपालिकाका पूर्वमेयर द्वारिकलाल चौधरी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । चौधरीलाई माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले स्वागत गरे । चौधरीसहित नेकपा एमालेका नेता–कार्यकर्ताहरु माओवादी प्रवेश गरेका हुन् ।
प्रदेश सभामा उम्मेदवार बनाउने र निर्वाचित भएपछि मन्त्री समेत बनाउने सर्तमा चौधरीलाई पार्टी प्रवेश गराइएको नेकपा माओवादी केन्द्रका नेताले बताएका छन् । चौधरीसहित अन्य १० जना माओवादीमा प्रवेश गरेको जनाइएको छ ।
इटहरीका चौधरी २०४१ सालदेखि अनेरास्ववियुमा संगठित भएर राजनीतिमा लागेका थिए । उनी २०७२ सालमा एमाले सुनसरी जिल्ला अध्यक्ष भएका थिए भने २०७४ को स्थानीय तह निर्वाचनमा इटहरी उपमहानगरपालिकाको मेयर निर्वाचित भएका थिए ।
त्यस्तै, २०६४ को पहिलो संविधानसभा सदस्य निर्वाचनमा चौधरी एमालेको समानुपातिक उम्मेदवार समेत थिए ।